टोखामा बिस्केट जात्रा सुरु



काठमाडौँ, १४ चैत । ऐतिहासिक तथा प्राचीन नगरी टोखामा यस वर्षको बिस्केट जात्रा सुरु भएको छ ।

स्थानीय गणेश मन्दिर नजिकैको चोकमा विभिन्न रङ्गीचङ्गी ध्वजा पताकाले सिँगारिएको लिङ्गो ठड्याइएपछि जात्रा सुरु भएको हो । नयाँ वर्षको स्वागतका लागि यहाँ बिस्केट जात्रा गर्ने परम्परा छ । यही चैतको अन्तिम सातामा शुभ साइत हेराएर त्यस क्षेत्रका स्थानीय विभिन्न देवदेवीको पूजा तथा बिस्केट जात्राका लागि निमन्त्रणा गर्ने गरिन्छ ।

आगामी वैशाख ६ गतेसम्म जारी रहने उक्त जात्राका अवधिभर स्थानीय गणेश भैरवको जात्रा निकालिन्छ । त्यसैगरी स्थानीय शक्तिपीठमा पञ्चबलिको व्यवस्था गर्नुपर्छ । त्यस्तै सपनतीर्थ पोखरीमा स्नान गर्नका लगि मेला लाग्ने गर्छ ।

प्राचीन समयमा विभिन्न दानवीय शक्तिले त्यस क्षेत्रमा नगरवासीलाई दुःख दिएकाले तिनलाई सुरक्षित राख्नका लागि सो जात्रा निकाल्ने प्रचलन सुरु गरिएको स्थानीयवासी मनिराज डङ्गोलले जानकारी दिनुभयो । त्यहाँको सो जात्रा अलि फरक रहेकाले जिब्रो छेड्ने प्रचलन भने छैन । राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरमा सो जात्रा प्रवद्र्धन गर्न संस्कृतिविद् तथा स्थानीयवासीले पहल गरिरहेका छन् । रासस

प्रतिक्रिया दिनुहोस्