मकवानपुरमा २ सय कर्मचारी अभाव



हेटौंडा,(नेस) । स्थानीय तहको शासन सञ्चालन आदेशको ब्यवस्था अनुसार मकवानपुरका उपमहानगरपालिका, नगरपालिका र गाउँपालिकामा कर्मचारीे अभाव देखिएको छ ।
मकवानपुरमा एक सय ८२ कर्मचारी अपुग छन् । स्थानीय तह चुनाव नजिकिंदै जाँदा कर्मचारी अभाव भएपछि काम गर्न समस्या भएको मकवानपुरका स्थानीय विकास अधिकारी नारायणप्रसाद मैनालीले बताए ।
स्थानीय तहमा कर्मचारी पठाउन जिल्लाका अन्य सरकारी कार्यालयबाट पनि कर्मचारी लिनसक्ने अवस्था नभएको बताइएको छ । हेटांैडा उपमहानगर, थाहा नगर र आठ गाउँपालिकामा एक सय दुई वडा छन् । जसमा हाल एक सय चौबीस कर्मचारी छन् । दैनिक कार्य सञ्चालनका लागि प्रत्येक वडामा तीन जना कर्मचारी रहने सरकारी ब्यवस्था छ ।
सोहीअनुसार काम गर्न मकवानपुरमा तीन सय ६ कर्मचारी आवश्यक पर्ने देखिन्छ । तर, हाल एक सय चौबीसमात्र कर्मचारी रहेकाले ब्यवस्थापनमा समस्या देखिएको जिल्ला समन्वय समिति मकवानपुरका योजना अधिकृत किसान न्यौपानेले बताए ।
हेटौडा उपमहानगरका उन्नाइस वडा, थाहा नगरका बाह्र वडा र गाउँपालिकाका एकहत्तर वडामा गरी एक सय चौबीस कर्मचारी रहेको र अझ एक सय बयासी कर्मचारी अपुग रहेको न्यौपानेले बताए । हेटौंडाका उन्नाइस वडामा हाल कार्यरत् कर्मचारी चौतीस रहेको र अपुग कर्मचारी तेइस छन् । थाहा नगरमा कार्यरत् १२ र अपुग २४ रहेको तथा गाउँपालिकाका वडाहरुमा अठहत्तर कर्मचारी कार्यरत् रहेको र १ सय ३५ अपुग छन् ।

प्रतिक्रिया दिनुहोस्