निर्धारित समयमै स्थानीय चुनावः महरा



नरेन्द्र केसी, दाङ ।
उपप्रधान तथा अर्थमन्त्री कृष्णबहादुर महराले तोकिएकै मितिमा स्थानीय तहको निर्वाचन हुने बताउनुभएको छ । चुनाव रोक्न सबैखाले प्रयास असफल भइसकेको उल्लेख गर्दै उहाँले सरकारले तोकेकै मितिमा चुनाव हुने बताउनुभयो ।
नेकपा माओवादी केन्द्र ५ नम्बर प्रदेशले सोमवार घोराहीको नवलपुरमा आयोजना गरेको प्रदेशस्तरीय प्रशिक्षणलाई सम्वोधन गर्दै उहाँले स्थानीय निर्वाचन जनताको विकासको अपेक्षासँग जोडिएकाले पनि यसलाई अब कसैले रोक्न नसक्ने बताउनुभयो । ‘धेरैमा मधेशी दलहरुले के गर्छन् भन्ने आशंका होला तर अहिले सबैभन्दा धेरै चुनावको माहोल नै मधेशमा बनेको छ’– उहाँले भन्नुभयो– ‘मधेशी जनता पूरै चुनावको पक्षमा रहेकाले मधेशी दलहरु पनि सहमतिनजिक आइसकेका छन्, अब प्रधानमन्त्री चीन भ्रमणबाट आएपछि उनीहरुसँग सहमति हुन्छ ।’
मधेशी दलहरु प्रदेश सिमांकन थाँती राख्न र एमाले संविधान संशोधन अघि बढाउन तयार भएपछि राजनीति सहमतिउन्मुख भएको उल्लेख गर्दै उहाँले केही दिनमै दलहरुबीच सहमति हुने र औपचारिकरुपमै मधेशी दलहरु पनि चुनावको तयारीमा लाग्ने बताउनुभयो । यद्यपि मधेशी दल स्थानीयस्तरमा चुनावको तयारीमा अहिले नै लागिसकेको उहाँले बताउनुभयो । अब सिमांकन चुनावपछि टुंग्याउने गरी मधेशी दलहरु सहमतिमा आउने जानकारी दिंदै माओवादी केन्द्रका नेतासमेत रहेका महराले भाष, नागरिकता र राष्ट्रिय सभामा प्रतिनिधित्वको सवाल अहिले नै टुंगिने बताउनुभयो ।
प्रधानमन्त्रीको चीन भ्रमण सफल भएको टिप्पणी गर्दै उहाँले दुबै छिमेकी देशको भ्रमण गरेर सन्तुलित परराष्ट्रनीतिलाई अझ पुष्टि गरिएको बताउनुभयो । ‘हामी भारत र चीन दुबैका मित्र हौं, कसैका परस्त होइनौं’– महराले भन्नुभयो– ‘राष्ट्रिय स्वाधीनताको मामिलामा दृढसँग उभिने हामी नै हौं ।’ चीनले चाहेको ‘ओन बेल्ट ओन रोड’ अवधारणाप्रति नेपाल सहमति रहेको उल्लेख गर्दै उहाँले प्रधानमन्त्रीको चीन भ्रमणपछि नेपाली सीमासम्म रेलवे विस्तार, इन्धन भण्डारण, विद्युत आपूर्तिलगायतका क्षेत्रमा नयाँ वातावरण बनेको बताउनुभयो । स्थानीय तह कार्यान्वायनमा ल्याउन नदिन ठूलै चलखेल भए पनि त्यसलाई चिरेर ल्याएको उल्लेख गर्दै उहाँले यसले संघीयता कार्यान्वायनको बाटो खोलेको बताउनुभयो ।
नेता टोपबहादुर रायमाझी प्रदेश सिमांकन संशोधनको बहसले ५ नम्बर प्रदेशमा बढी नै तरंग ल्याएको उल्लेख गर्दै यसलाई थाँती राख्ने सहमतिले सहज भएको बताउनुभयो । यस बिषयमा पनि आफ्नो पार्टीभित्र केही समस्या देखिएको उल्लेख गर्दै अब समस्या समाधान भएको बताउनुभयो । अर्का नेता मणि थापाले पार्टीले विकास गरेको पछिल्लो कार्यदिशाबाट समाजवाद निर्माणमा अघि बढ्न सहज हुने बताउनुभयो ।
प्रदेश इञ्चार्ज इञ्चार्ज बर्षमान पुन ‘अनन्त’को अध्यक्षतामा भएको कार्यक्रम सञ्चालन प्रदेश संयोजक पूर्ण घर्तीले गर्नुभएको थियो । प्रशिक्षणमा प्रदेशभरिका केन्द्रीय सदस्य, जिल्ला सदस्य गाउँ तथा नगरपालिकाका पदाधिकारीको सहभागिता रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्