ङादी खोलामा ३० मेगावाट क्षमताको जलविद्युत आयोजना निर्माण सुरु



लमजुङ (नेस) ।

लमजुङको उत्तरी क्षेत्रमा अर्को एक विद्युत आयोजनाको निर्माण कार्थ थालिएको छ । ङादी खोलामा जलविद्युत आयोजना निर्माण सुरु गरिएको हो ।

आयोजनाको निर्माण कार्यको शिलन्यास सांसद जमिन्द्रमान घले, पूर्ब जलस्रोत राज्यमन्त्री रामबहादुर गुरुङ र आयोजनाका निर्देशक मृगेन्द्रबहादुर श्रेष्ठ र आयोजना प्रबन्धक उत्तमकुमार अमात्यले संयुक्त रुपमा गर्नुभएको हो ।

कुल ३० मेगावाट क्षमताको उक्त आयोजना आउँदो तीन बर्षमा निर्माण पूरा गर्ने लक्ष्यका साथ औपचारिक निर्माण कार्य शुभारम्भ गरिएको हो । मस्र्याङ्दी गाउँपालिका– ६ स्थित बाहुनडाँडाको नाइचेमा बाँध बाँधी चार किलोमिटर दुरीको टनेलमार्फत पानी ल्याई सोही वडाको ठूलोबेसीको विद्युत गृहमा झारिने भएको आयोजनाका कार्यकारी निर्देशक वेगेन्द्र श्रेष्ठले बताउनु भयो । उहाँका अनुसार बुटवल पावर पाट्नर्सले निर्माण गर्न लागेको यस आयोजनाको निमार्ण कामको ठेक्का चिनियाँ ठेकेदार कम्पनी चचियान हाइड्रोपावर कन्सट्रक्सनले पाएको छ ।

कुनै प्रकोप वा असहज स्थिति नआए निर्धारित समयमै काम सम्पन्न हुने ठेकेदार कम्पनी चचियानले जनाएको छ । एभरेष्ट बैँक लिमिटेडको अगुवाई तथा नविल बैँक, ग्लोवल आइएमई बैँक, हिमालय बैँक, सनराईज बैँक र जलविद्युत लगानी तथा विकास कम्पनीको समूहको आयोजनामा ४ अर्ब ४० करोड ऋण लगानी गर्ने भएको छ ।

उक्त आयोजनामा बुटवल पावर पाट्नर्सको ९७.६ प्रतिशत लगानी छ, भने लेड्को (लमजुङ विद्युत विकास कम्पनी) ले २.५ प्रतिशत शेयर लगानी गरेको छ । आयोजनामा स्थानीय क्षेत्रका प्रभावित नागरिकहरुको १० प्रतिशत र लमजुङ विद्युत विकास कम्पनी (लेड्को)को ७ प्रतिशत शेयर रहने जनाइएको छ ।

प्रतिवर्ष १७ करोड २२ लाख युनिट विद्युत उत्पाद हुने आयोजनाको ग्रस हेड ३ सय ३५ मिटर रहेको छ । यस आयोजनाको विद्युत खरिद सम्झौता सम्पन्न भैसकेको छ । बैँकको व्याज सहित कुल ६ अर्व रुपैयाँमा निर्माण हुन लागेको यस आयोजना आगामी २०७६ साल भित्रैमा सम्पन्न गर्ने लक्ष्य राखेको प्रबर्धक कम्पनी न्यादी हाइड्रोपावर लिमिटेडले आगामी डेढ बर्षभित्रमा आयोजनाको प्रसारण लाइन निर्माणको कार्य सम्पन्न गर्ने लक्ष्यका साथ काम अघि बढाएको आयोजनाका प्रोजेक्ट म्यानेजर उत्तम आमात्यले बताउनु भयो । उहाँका अनुसार उक्त न्यादी जलविद्युत आयोजनाले आफैं प्रशारण लाइन निर्माण गरी १३२ केभी प्रशारण लाइनमा जडान गर्ने भएको छ ।

आयोजनाको सबस्टेशन खुदी स्थित टारीकुनामा राख्न लागिएको र ठूलोबेसीमा रहने विद्युतगृहसम्म ६ किलोमिटर लामो प्रशारण लाइन निर्माण गरिने प्रोजक्ट म्यानेजर अमात्यले जानकारी दिनुभयो । आयोजनाबाट उत्पादित विद्युतलाई १३२ केभी प्रसारण लाइनमार्फत नेपाल विद्युत प्राधिकरणले खुदी गाविसमा प्रस्ताव गरेको १३२ केभी हबमा राष्ट्रिय प्रशारणको लागि जोडिने भएको छ ।

प्रशारण लाइन ठूलोबेसीबाट शुरु भई न्यौपाने फाँट, खुदीको थाकन र टारिकुना हुँदै टुनीखर्कसम्म पुग्ने म्यानेजर आमात्यले बताउनु भयो । उहाँँका अनुसार पावर हाउसबाट उत्पादित विद्युत प्रशारणका लागि प्रसारण लाईन निर्माणार्थ कुल १५ वटा स्टिल टावर राखिने छ ।

मस्र्याङ्दी गाउँपालिका अन्तर्गत साविकको बाहुनडाँडा र भुलभुलेको सिमामा रहेको नादी खोलाबाट न्यादी जलविद्युत आयोजनासँगै क्रमश तीन आयोजना निर्माणको क्रममा छन् ।

प्रतिक्रिया दिनुहोस्