एक महिनामा ‘हेबि लाईसेन्स’ आवेदन नखोले आन्दोलन



यमलाल भुसाल, बुटवल ।

यस क्षेत्रका यातायात व्यवसायीहरुले हेभि सवारी साधनको सवारी चालक अनुमति पत्रको आवेदन तत्काल नखोले आन्दोलन गर्ने चेतावनी दिएका छन् । यस क्षेत्रमा बिगत ६ वर्षदेखि हेबि सवारी चालकको अनुमति पत्र वितरणका लागि आवेदन समेत खोलिएका छैन ।
यातायात व्यवस्था सवारी चालक अनुमति पत्र वितरण कार्यालय लुम्बिनीमा ज्ञापनपत्र बुझाउँदै यस क्षेत्रका ९ वटा यातायात व्यवसायी संघ सस्थाले तत्काल आवेदन खुल्ला गर्न माग गदै एक महिना भित्र नखोले आन्दोलन गर्ने घोषणा गरेका हुन् ।
हवाई मार्गको पहुँच नभएको र जलमार्गको बिस्तार नभएको अहिलेको अवस्थामा सडक यातायात निर्विकल्प भएकाले लामो समयसम्म हेबि सवारी चालकको आवेदन बन्द हुनुले यातायात व्यवसायीलाई ठूलो नोक्सानी व्यहोर्नुपरेको पश्चिमाञ्चल यातायात व्यवसायी समिति बुटवलका अध्यक्ष टिकाराम गौतमले बताए ।
दक्ष जनशक्तिको अभाव भई अर्धदक्ष व्यक्तिले नक्कली सवारी चालक अनुमति पत्र बनाई सवारी चलाउनाले गर्दा दुर्घटनामा वृद्धि भएको र बिना लाईसेन्स नै सवारी चलाउने समेत गर्ने गरेकाले सार्वजनिक सवारी सञ्चालन गर्न कठिनाई परेको पश्चिम नेपाल बस व्यवसायी संघका अध्यक्ष दधिराम खरेलले बताए ।
सरकारले नयाँ गाडी आयात गर्न अनुमति दिइरहने तर ती गाडी चलाउने जनशक्ति उत्पादन गर्नेतर्फ गम्भीर नहुँदा आयातित ती गाडीहरु कसले चलाउने र कसरी चलाउने भन्दै लुम्बिनी ट्रक यातायात व्यवसायी संघका अध्यक्ष विष्णुप्रसाद खरेलले व्यवसायीहरुले तत्काल हेबि सवारी चालक अनुमति पत्र वितरणको प्रक्रिया सुरु गर्न माग गरे ।
यथाशीघ्र हेबि सवारी चालक अनुमति पत्रको आवेदन खुल्ला नगरिए यातायात व्यवसाय नै संकटमा पर्ने अवस्था सिर्जना भएको बुटवल यातायात व्यवसायी समितिका अध्यक्ष डिलबहाुर थापाले बताए । व्यवसायीहरुले अविलम्ब हेबि सवारी चालक अनुमति पत्र वितरण खुला नगरे सम्पूर्ण सार्वजनिक सवारीका साधनहरु थन्काई देशव्यापी रुपमा आन्दोलन गर्ने चेतावनी समेत दिएका छन् ।
यसरी ज्ञापनपत्र बुझाउनेहरुमा पश्चिमाञ्चल यातायात व्यवसायी समिति, पश्चिम नेपाल बस व्यवसायी संघ, बाणगंगा यातायात व्यवसायी समिति कपिलवस्तु, सिद्धार्थ यातायात व्यवसायी संघ, लुम्बिनी ट्रक यातायात व्यवसायी संघ, बुटवल यातायात व्यवसायी समिति, अखिल नेपाल यातायात मजदूर संघ, नेपाल यातायात स्वतन्त्र मजदूर संगठन लुम्बिनी र नेपाल यातायात मजदूर संघ रहेका छन् ।
९ वटै संस्थाका अध्यक्षहरुले संयुक्तरुपमा सोमबार यातायात व्यवस्था सवारी चालक अनुमति पत्र वितरण कार्यालय लुम्बिनीमा ज्ञापनपत्र बुझाएका हुन् ।
ज्ञापनपत्र बुझ्दै कार्यालयका प्रमुख बेदप्रकाश अर्यालले हेबि सवारी चालक अनुमतिपत्र वितरणका लागि ट्रायल स्पोर्टस नभएकाले लामो समयसम्म आवेदन खुल्ला गर्न नसकिएको बताउनुभयो । उहाँले कार्यालयको नाममा बुटवल उपमहानगरपालिका बेलबासमा पौने ४ बिगाहा जग्गा प्राप्त भइसकेकोले छिटै पुर्वाधार तयार गरी आवेदन खुल्ला गरिने जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्