‘निर्वाचन सामग्री र लेखा व्यवस्थापन विषयक’ प्रशिक्षण कार्यक्रम



पोखरा, १४ चैत । स्थानीय तहको निर्वाचनका लागि आवश्यक पर्ने ‘निर्वाचन सामग्री र लेखा व्यवस्थापन विषयक’ क्षेत्रीय प्रशिक्षक प्रशिक्षण कार्यक्रम आजदेखि यहाँ सुरु भएको छ ।

निर्वाचनमा आवश्यकपर्ने ६४ प्रकारका निर्वाचन सामग्रीको सुरक्षा, ढुवानी र व्यवस्थापन तथा लेखालाई बेरुजु हुन नदिइ चुस्त दुरुस्त पारी शून्यमा झार्न सघाउ पु¥याउने उद्देश्यले यो कार्यक्रम आयोजना गरिएको हो ।

क्षेत्रीय निर्वाचन कार्यालय कास्कीको आयोजनामा भएको सो कार्यक्रममा लुम्बिनीको पाल्पा र गुल्मीसहित गण्डकी र धौलागिरी अञ्चलका जिल्ला निर्वाचन अधिकारी, कोष तथा लेखा नियन्त्रण एव्म निर्वाचन कार्यालयका लेखा र जिन्सी शाखाका प्रमुख समेत ४८ जनाको सहभागिता रहेको छ ।

सो अवसरमा जिल्ला अदालत कास्कीका जिल्ला न्यायाधीश नागेन्द्रलाल कर्णले निर्वाचन गराउनु निकै झन्झटिलो काम भए पनि लोकतन्त्रको संस्थागत विकासका लागि निर्वाचन महत्वपूर्ण भएकाले त्यसलाई सम्पन्न गर्नु राष्ट्रसेवक कर्मचारीको प्रमुख दायित्व हो भन्नुभयो ।

प्राप्त सीमित स्रोत र साधनको उचित व्यवस्थापन गरी तोकिएको ठाउँमा गएर काम गर्न कर्मचारीलाई आग्रह गर्नुभयो ।

कास्कीका सहायक प्रमुख जिल्ला अधिकारी झलकराम सुवेदीको सभापतित्वमा सम्पन्न सो कार्यक्रममा क्षेत्रीय निर्वाचन कार्यालयका प्रमुख गङ्गालाल सुवेदी र निर्वाचन आयोगका शाखा अधिकृत लोकबहादुर रानाले स्थानीय तहको निर्वाचनलाई स्वच्छ, स्वतन्त्र र धाँधलीरहित सम्पन्न गर्न सबैको अहम दायित्व भएको बताउनुभयो । रासस

प्रतिक्रिया दिनुहोस्