जिउँदो मान्छेलाई मरेको बताएर जग्गा पास



बाँके, (नेस) ।
जिउँदो मान्छेलाई मरेको भनेर जग्गा पास गरिएको छ । कोहलपुर नगरपालिका–९, चटारका कल्लु ठठेर भन्ने दयाशंकर कौशलको मृत्यु भएको भनि जग्गा पास गरिएको हो । कौशलको नामको ३९ नम्बरको कित्ता भएको पाँच कठ्ठा जमिन नक्कली कागजात तयारी गरी अर्कैले पास गरेका हुन् ।
कोहलपुरका चन्द्रप्रसाद जैसी र नेपालगञ्जका विजय ठठेरले कौशलको नामको जग्गा नक्कली कागजात तयारी गरी आफ्नो नाममा पास गरेका छन् । विजयले कल्लु आफ्नो हजुरबुवा भएको नक्कली कागजात तयार गरेका थिए । जैसीले पैसा लगानी र योजना बनाएका थिए ।
२०७० सालदेखि नै ठगहरुले कागजी प्रक्रिया मिलाउन शुरु गरेका थिए । २०७२ सालमा आएर जग्गा पास गरेका थिए । जग्गाधनी कल्लुले अहिले आएर थाहा पाएका छन् । आफ्नो जग्गा अर्कैले पास गरिसकेको थाहा पाएपछि कल्लु प्रहरीको शरणमा पुगेका छन् ।
प्रहरीले चन्द्रप्रसाद र विजयलाई नियन्त्रणमा लिएको छ । दुवैविरुद्ध प्रहरीले ठगी तथा सरकारी कागज किर्ते मुद्दामा अनुसन्धान अघि बढाएको छ । यो घटनामा मालपोत कार्यालय र स्थानीय निकायका कर्मचारीको मिलोमतोका बारेमा अनुसन्धान अघि बढाएको जिल्ला प्रहरी कार्यालय, बाँकेले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्