कुपोषणका कारण दोलखाका बालबालिका उच्च जोखिममा



चिरञ्जीवी मास्के, दोलखा ।

दोलखा जिल्लाको बिभिन्न गाविसमा रहेका बालबालिका, गर्भवती तथा सुत्केरी महिलामा गरीएको परिक्षणमा ५२ जना बालबालिकामा कडा सिघ्र कुपोषण, ६ सय २४ जनामा मध्यम तथा सिघ्र कुपोषण र ९ सय ५५ गर्भवती तथा सुत्केरी महिलामा मध्यम तथा सिघ्र कुपोषणा पाइएको जिल्ला स्वास्थ्य कार्यालय दोलखाले जनाएको छ ।

फागुन महिनामा पहिचान गरिएका कडा शिघ्र कुपोषणका ५२ जना बालबालिकाको उपचार गरिएकोमा तीन जनाको उपचार जारी रहेको र अन्य बालबालिका भने उपचार पछि स्वस्थ भएको जिल्ला स्वास्थ्य कार्यालय दोलखाले जनाएको छ । त्यसैगरी भुकम्प पछि दोलखामा अति कुपोषित ५ जना बालबालिकाले विशेष उपचार कक्षमा उपचार सेवा लिईरहेको जनाईएको छ ।

भुकम्प पछि आपत्कालिन अवस्थामा अति कुपोषित बालबालिकाको उपचार गर्ने उदेश्यले स्थापना गरिएको विशेष उपचार कक्षमा ३ जना बालिका र २ बालक गरी ५ जना बालबालिकाले सेवा लिएको जनाईएको छ ।

अति कुपोषित बालबालिकामा भोक नलाग्ने, ग्लुकोजको मात्रा कम हुने, (शिताङ्ग) तापक्रम कम हुने, छालाको सक्रमण, उचित बुद्धि विकास नहुने लगायतका समस्या हुने र सामान्य बालबालिका भन्दा अति कुपोषित बालबालिकालाई मेडिकल जटिलता हुने भएकाले उनिहरुलाई विशेष उपचार कक्षको व्यवस्था गर्नु परेको राष्ट्रिय स्वास्थ्य कोषकी जिल्ला संयोजक स्मीता भण्डारीले जानकारी दिनु भयो ।

दोलखामा १४ ओटा उपचारात्मक बहिरङ्ग सेवा सञ्चालनमा रहेको र उक्त बहिरङ्ग सेवाबाट समस्या पहिचान गरी रेफर गरिएका अति कुपोषित बालबालिकालाई चरिकोट स्थित प्राथामिक स्वास्थ्य केन्द्रमा राखेर उपचार गरिएको भण्डारीले बताउनु भयो । विशेष उपचार कक्षका लागि अहिले प्राथामिक स्वास्थ्य केन्द्रमा ४ ओटा बेड सञ्चालनमा रहेको र समस्या पहिचान गर्न सजिलो होस भन्ने उदेश्यले ४२ जना स्वास्थ्य कर्मीलाई तालिम समेत दिएको जनाईएको छ ।
जिल्ला स्वास्थ्य कार्यालयले ६ देखि ५९ महिनासम्मका बालबालिकामा गरेको परिक्षणमा ६ सय २४ जनामा मध्यम तथा शिघ्र कुपोषण भेटिएको जिल्ला जनस्वास्थ्य निरीक्षक कुमार दहालले बताउनु भयो । मध्यम तथा शिघ्र कुपोषण भेटिएका बालबालिका मध्य ६ सय २ जनाको उपचार गरिएको र त्यसमा ५ सय ३४ बालबालिका उपचार पछि स्वस्थ रहेको तथा ४८ जना बालबालिका अहिले पनि नियमीत उपचारमा रहेको जनस्वास्थ्य निरीक्षक दहालले बताउनु भयो ।

उपचार गरिएका मध्य १० जनामा पुनः समस्या देखिएको, २ जनालाई उपचारको लागि अन्यत्र पठाईएको, १ जना सम्पर्कमा नआएको तथा १ जनाको मृत्यु भएको जिल्ला स्वास्थ्य कार्यालय दोलखाले जनाएको छ ।

त्यसैगरी ९ सय ५५ जना गर्भवती तथा सुत्केरी महिलामा मध्यम तथा शिघ्र कुपोषणको समस्या देखिएको र त्यसमध्य ९ सय ४४ जना गर्भवती तथा सुत्केरी महिलाको उपचार गरिएको कार्यालयले जनाएको छ । उपचार गरिएका मध्य ४ सय २३ जना गर्भवती तथा सुत्केरी महिला पूर्ण रुपमा स्वस्थ रहेको र ३ सय ६४ जना अहिले पनि नियमति उपचारमै रहेको कार्यालयको तथ्याङ्कले देखाएको छ ।

प्रतिक्रिया दिनुहोस्