पोर्चुगलको जित



लन्डन, (एजेन्सी)
सन् २०१८ को फिफा विश्वकपका लागि युरोपेली क्षेत्रको समूह बीको छनोटमा पोर्चुगलले रोनाल्डोको दुई गोलको मद्दतमा जित हात पारेको छ।

स्टार स्ट्राइकर क्रिस्टियानो रोनाल्डोको दुई उत्कृष्ट गोलको सहयोगमा युरोपेली च्याम्पियन पोर्चुगलले विश्वकप छनोटमा हंगेरीविरुद्ध ३–० को सहज जित हासिल गरेको हो। खेलको ३२औं मिनेटमा सिल्भाको गोलमार्फत् घरेलु मैदानमा पोर्चुगलले गोलको खाता खोलेका थिए। त्यसको पाँच मिनेट नबित्दै क्रिस्टियानो रोनाल्डोले आन्द्रे सिल्भाको पासमा गोल गरेपछि पहिलो हाफसम्म पोर्चुगलले २–० को अग्रता लिएको थियो।

रोनाल्डो यतिमै रोकिएनन्। खेलको ६५औं मिनेटमा रोनाल्डोले व्यक्तिगत दोस्रो गोल गरे। करिब २५ मिटर टाढाबाट प्रहार गरेको फ्रिकिक सुन्दर गोलमा परिणत भएपछि पोर्चुगलको गोल संख्या तीन पुग्यो। यो सँगै उनले पोर्चुगलका तर्फबाट १ सय ३८औं खेलमा ७० गोलको आँकडा पार गरेका छन्।

तर उक्त जितपछि पनि समूह बी मा पोर्चुगल दोस्रो स्थानमा नै छ। पोर्चुगल शीर्ष स्थानको स्विट्जरल्यान्डभन्दा ३ अंकले पछाडि छ। सोही समूहअन्तर्गत शनिबारै भएको अर्को खेलमा स्विट्जरल्यान्डले लात्भियालाई १–० ले हराएको थियो। समूहमा खेलेको पाँच खेलमा स्विजरल्यान्ड अझै अपराजित नै छ।

नेडरल्यान्ड्सको छनोट कठिन बन्दै
तीनपटक फिफा विश्वकपको उपविजेता नेडरल्यान्ड्सको आगामी विश्वकप छनोट चरण कठिन बन्न थालेको छ। सन् २०१० को विश्वकपको उपविजेता तथा सन् २०१४ को सेमिफाइनललिस्ट नेडरल्यान्ड्ले रसियामा हुने आगामी विश्वकपको युरोपेली छनोटमा खराब प्रदर्शनलाई जारी राख्दा छनोटको बाटो कठिन बन्न थालेको हो।

छनोट चरणअन्तर्गत शनिबार राति सम्पन्न समूह ए को खेलमा नेडरल्यान्ड्सले बुल्गेरियासँग २–० को अप्रत्यासित हारको सामना गर्नुपर्यो। घरेलु मैदानमा बुल्गेरियालाई जित दिलाउन स्ट्राइकर स्पास डेलेभले दुई गोलको योगदान गरे। उनले खेलको पाँचौं तथा २०औं मिनेटमा गरी दुई गोल गरेका थिए।

यता आर्येन रोविनको नेडरल्यान्ड्सले गोलका लागि केही अवसरहरू चुकाएपछि हार स्वीकार्न बाध्य बन्यो। छनोट चरणका पाँच खेल सकिँदा नेडरल्यान्ड्सले २ खेलमा मात्र जित हासिल गरेको छ। यो समूहमा नेडरल्यान्ड्ससँगै फ्रान्स र स्वीडेन जस्ता बलियो टोली समावेश छन्। स्वीडेनसँग बराबरी खेलेको नेडरल्यान्ड्सलाई फ्रान्स र बुल्गेरियासँग हराएको छ। हारपछि नेडरल्यान्ड्सको ७ अंक छ भने शीर्ष स्थानको फ्रान्सको १३, स्वीडेनको १० र बुल्गेरियाको ९ अंक छ।

यसै समूहअन्तर्गत शनिबारै भएको अर्को खेलमा लग्जेम्बर्गलाई ३–१ ले हराउँदै फ्रान्सले शीर्ष स्थानमा ३ अंकको अग्रतालाई यथावत् राखेको छ। फ्रान्सको जितमा ओलिभर गिरोर्डले दुई र एन्टोइन् ग्रिजम्यानले एक गोलको योगदान गरेका थिए। यस्तै स्वीडेन पनि बेलारुसलाई ४–० ले हराउँदै समूहको दोस्रो स्थानमा अडिग नै छन्।

प्रतिक्रिया दिनुहोस्