फाँसीको सजाय पाएका १० युवकलाई बचाउन ब्लडमनी



अबुधाबी, (एजेन्सी)
अबुधाबीको अल अइन अदालतले मृत्युदण्ड पाएका १० जना भारतीय युवकको उक्त सजायँ माफ गर्न त्यसको बदलामा ब्लडमनी जम्मा गराउन मन्जुरी दिएको छ।

भारतको पन्जाबबाट अबुधाबीमा काम गर्न गएका ती युवकहरु सन् २०१५ मा एक झडपका क्रममा एकजना पाकिस्तानी युवकको हत्यामा दोषी पाइएको थियो। उनीहरुलाई फाँसीको सजायँ सुनाइएको थियो।

सरिया कानुनमा यदि हत्याका दोषी र पीडितका परिवारबीच मेलमिलाप भएमा र यदि पीडित परिवार माफी दिन राजी भएमा फाँसीलाई माफ गर्नका लागि अदालतमा अपिल गर्न सक्छ।
यद्यपि यसमा धेरै घटनामा मुआब्जा पनि दिने गरिन्छ , जसलाई ब्लडमनी भनिन्छ। भारतीय पन्जाबका ती युवकहरुलाई माफी दिने वा नदिने विषयमा अदालतले फैसला गर्नेछ। तर ती युवाहरुको मुक्तिको सम्भावना बढेको छ।
उनीहरुको सजायँ माफीका बदलमा ब्लडमनी दिने काम भारतीय मूलका एसपीएस ओबेरायले गरिरहेका छन्। उनी दुबईका एक उद्योगपति हुन्। ओबेराय ‘सरबत दा भला’ नामक एनजीओका अध्यक्ष हुन्। उक्त संस्थाले यस प्रकारका घटनाहरुमा फसेकाहरुलाई मद्दत गर्दै आइरहेको छ।

निलो र कालो रंगको जेलको पहिरणमा अदालतमा आएका ती पन्जाबी युवकहरुको अनुहारमा केही राहतको झलक प्रष्ट देखिएको थियो तर उनीहरु आफूलाई बचाउनका लागि अगाडि आएका एसपीएस ओबेरायलाई हेरिरहेका थिए।
एसपीएस ओबेरायले जानकारी दिँदै भने– ‘अक्टोबर २६ मा मृत्युको सजायँ पाएका १० जनाको मामिलामा हामी सम्झौता गर्न सफल भयौं।’

पाकिस्तानी मोहम्मद रियाज झगडामा मारिएका थिए। रियाजका पिता सजायँ पाएका युवकहरुलाई माफ गर्नका लागि आफ्नो परिवार र केही साथीहरुसँग पेशावरबाट अबुधाबीको अदालत पुगेका थिए। उनले सम्झौताको कागजात अदालतमा बुझाएका छन्। अदालतले यस मामिलामा सन् २०१७ अप्रिल १२ मा सुनुवाइ हुने जनाएको छ।

मोहम्मद रिराजले भने– ‘मैले आफ्नो छोरा गुमाएको छु, यो मेरो दुर्भाग्य थियो। यदि मैले ती युवकलाई माफ गरिन भने के हुन्छ ? म युवा पिँढीलाई यस्तो झगडा नगर्न अपिल गर्दछु, आफ्नो काममा मात्र ध्यान दिनु र आफ्नो देश अनि आमाबुबाको नाम चम्काउनुपर्छ।’

युवा पिँढीलाई सन्देश दिँदै रियाजले भने– ‘मैले ती १० जनालाई माफ गरेर उनीहरुको जिन्दगी अल्लाहले बचाएको हो, मेरो त नाम मात्र हो। यहा आएका हरेक एक व्यक्तिसँग १० जनाको जिन्दगी जोडिएको हुन्छ, उनका मातापिता, पत्नी र बच्चाहरु।’

ओबेरायले भने– ‘मोहम्मद रियाजलाई तीन दिन अगाडि पाकिस्तानबाट झिकाइएको थियो। हामीले उनलाई भिजा र टिकट पठाइदिएर यहाँ बस्ने पनि व्यवस्था गरेको छु। हामीले धेरै प्रयास गरी मोहम्मद रियाजलाई मनाएका हौं र उनले सरिया अदालतमा कानुनअनुसार हामी दुई लाख डेहरम ब्लड मनी अदालतमा जम्मा गराएको छु।
उनले न्यायाधीशको अगाडि आफ्ना परिवारको तर्फबाट सबै १० युवकलाई माफी दिने बताएको ओबेरायले बताए। ओबेरायले अहिलेसम्म यस प्रकारको मामिलामा ८८ युवकलाई फाँसीबाट बचाइसकेका छन्।

प्रतिक्रिया दिनुहोस्