नेपाली पर्यटनको वास्तविकता



निनाम लोवात्ती कुलुङ
नेपालमा पर्यटनको कुरो गर्दा सन् १९९८ मा पनि ५ लाख विदेशी पर्यटकलाई नेपाल भ्रमणार्थ आकर्षित गर्ने लगायतका विभिन्न उद्देश्य र कार्यक्रमसहित ‘नेपाल भ्रमण वर्ष’ मनाइएको थियो। यता देशमा माओवादी विद्रोह चरमोत्कर्षमा पुगेको बेला सन् २००२ मा ‘गन्तव्य नेपाल २००२’ पनि मनाएकै हो। त्यस्तै सन् २०११ मा १० लाख विदेशी पर्यटकलाई नेपालको भ्रमण गराउने लक्ष्यसहित ‘नेपाल पर्यटन वर्ष’ मनाइएको थियो। तर ती दुबै वर्षमा अपेक्षित पर्यटक नेपाल आएनन्। अर्को वर्ष अरु उद्देश्य र लक्ष्यहरूमा सफल नभए तापनि नेपाल भ्रमणमा आउने विदेशी पर्यटकको संख्या पुर्याउने सन्दर्भमा भने तोकिएको संख्याको केही नजिक पुग्न सफल भएको थियो।

पहिलोपटक नेपालले मनाएको ‘नेपाल भ्रमण वर्ष ९८’ मा ५ लाख विदेशी पर्यटक नेपाल भित्र्याउने लक्ष्य लिइएकोमा ४ लाख ६३ हजार ६ सय ८४ जना विदेशी पर्यटकले नेपाल भ्रमण गरेका थिए भने नेपाल भ्रमणमा आएका विदेशी पर्यटकले गरेको दैनिक खर्च भने लगभग ४१ अमेरिकी डलर मात्रै रह्यो। स्मरण रहोस्, उद्देश्य भने दैनिक ४९ अमेरिकी डलर खर्च गराउने लिइएको थियो। लगत्तै सन् ९९ मा भने ४ लाख ९१ हजार ५ सय ४ जनाले नेपाल भ्रमण गरेका थिए। त्यस्तै सन् २०११ मा पनि १० लाख विदेश पर्यटक भित्र्याउने लक्ष्यसहित ‘नेपाल पर्यटन वर्ष २०११’ मनाइयो। तर सन् २०११ मा लक्ष्यभन्दा निकै कम पर्यटक नेपाल आए। अर्थात् सन् २०११ मा १० लाख विदेशी पर्यटक नेपाल भित्र्याउने लक्ष्य लिएकोमा ७ लाख ३६ हजार २ सय १५ जना विदेशी पर्यटकले मात्रै नेपाल भ्रमण गरे। नेपाल पर्यटन वर्ष मनाएको दोस्रो वर्ष अर्थात् सन् २०१२ मा बढेर ८ लाख, ३ हजार ९२ जना विदेशी पर्यटकले नेपालको भ्रमण गरे।

त्यसो त सन् २०१५ मा पनि ११ लाख विदेशी पर्यटक नेपाल भित्र्याउने भूत हामीमाथि नचढेको कहाँ हो र ? धन्य सन् २०१५ मै प्राकृतिक विपत्ति भूकम्प आएको र भारतले अघोषित नाकाबन्दी गरेकोले दोष जति भूकम्प र भारतलाई दिएर ५ लाख ३८ हजार ९ सय, ७० जना विदेशी पर्यटक मात्रै नेपाल भ्रमणमा आएकोमा सन्तोष मान्यौं। थाहा छैन, सन् २०१८ मा पुनः मनाउन लागिएको नेपाल भ्रमण वर्षमा पनि तोके जतिको संख्यामा विदेशी पर्यकट नेपाल भ्रमणमा आएनन् भने दोषको भारी कसको टाउकामा हाल्नुपर्ने हो ? त्यस्तै सन् २०२५ सम्ममा २५ लाख विदेशी पर्यटक नेपाल भित्र्याउने लक्ष्य लिइएकोमा त्यो बेला पनि केवल आधाआधी मात्रै अर्थात् १२⁄१३ लाख विदेशी पर्यटकले मात्रै नेपाल भ्रमण गरेमा फेरि पनि त्यसको दोषको भागी को हुने हो ?

हो, पर्यटनको सन्दर्भमा भन्नुपर्दा हाम्रो देश नेपाल भ्रमणमा आउने विदेशी पर्यटकको संख्या बढ्न नसक्नुमा निश्चय नै विभिन्न कारणहरू छन्। नेपालका विभिन्न राजनीतिक पार्टी र तिनका भ्रातृ संगठन, धार्मिक संघ–संस्था, जातीय संघ–संगठनहरू, स्थानीयवासी लगायतले गर्ने बेमौसमी र बेफ्वाँकको बन्द–हडताल पनि विभिन्न कारणमध्ये प्रमख कारणको रूपमा रहेको छ। नेपालको सन्दर्भमा बन्द–हडतालको प्रसंगमा भन्नै पर्दा बन्द–हडताल हुनुहुँदैन भनेर वकालत गर्नेहरूले नै पनि आफ्नो स्वार्थमा धक्का पर्नासाथ बन्द–हडताल गर्छन्। जस्तो कि तत्कालीन श्री ५ को सरकारले मूल्य अभिवृद्धि कर⁄भ्याट लागू गर्दा बन्द–हडताल हुनुहुँदैन भनेर वकालत गर्नेहरूमध्येमा पर्ने द्योगपति⁄व्यापारीहरूको संस्था ‘नेपाल चेम्बर्स अफ कमर्स⁄उद्योग वाणिज्य संघ’ले नै मूल्य अभिवृद्धि करका विरुद्ध बन्द–हडताल आयोजना गरेको थियो।

नेपालको हालको टड्कारो आवश्यकता भनेको अन्तर्राष्ट्रिय विमानस्थलको सुधार मुख्य हो। पर्यटक स्तरीय होटल⁄लज, सडक यातायात, आन्तरिक विमानस्थलदेखि लिएर गाउँघरका गोरेटो⁄घोडेटो बाटो निर्माण र मर्मत पनि पर्यटक प्रवद्र्धनका लागि आवश्यकतामा पर्छ। खासगरी तारे⁄लक्जरी–डिलक्स होटल, कटेज, सफारी, मचान, मोटेल आदिमा निजी क्षेत्रले सक्दो लगानी गरिरहेका छन्। उता बाराको निजगढमा बन्ने भनिएको अन्तर्राष्ट्रिय विमानस्थलमा सकेसम्म नेपालकै लगानी जोहो गर्ने प्रयास भइरहेकाले यसमा पनि निजी क्षेत्रले सरकारसँंग सहकार्य गर्ला नै।

यस वर्षको अप्रिल महिनाको सिजनको बेला पनि पर्यटकको बुकिङ खासै छैन। कतिपय ट्रेकिङ एजेन्सीका गाइडहरू कामविना नै बसेका छन् भने कतिपय गाइडहरूले बढीमा दुईपटकसम्म काम पाउने देखिन्छ। यो स्थिति हेर्दा यो वर्ष पनि अपेक्षित विदेशी पर्यटक नेपाल आउने संकेत देखिँदैन। त्यसमा पनि ट्रेकिङ जाने र पर्वतारोहण गर्ने खर्चालु पर्यटक कमै आउने देखिन्छ।

प्रतिक्रिया दिनुहोस्