चुनाव बिथोल्न विप्लवको ‘उक’ अभियान



काठमाडौं, (नेस)
नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले स्थानीय निकायको चुनावमा उठ्ने उम्मेदवारहरूलाई कब्जा (उक) गर्ने गरी कार्यक्रमको तयारी थालेको छ। सरकारले घोषणा गरेको स्थानीय निकायको चुनाव जनताको पक्षमा नभएको भन्दै निर्वाचन प्रभावित पार्ने तवरबाट उम्मेदवारहरूलाई आफ्नो नियन्त्रणमा लिएर भए पनि चुनाव हुन नदिने तयारी थालेको हो।

त्यसका लागि सबै जिल्ला तहमा वैशाख १ गतेदेखि जनपरिचालन गरिने पार्टीका प्रवक्ता खड्गबहादुर विश्वकर्मा ‘प्रकाण्ड’ ले बताउनुभयो।
देशव्यापीरूपमा हुने सभाका विभिन्न स्थानमा पार्टीका केन्द्रीयस्तरका नेताहरूले सम्बोधन गर्ने कार्यक्रम तय भएको सो पार्टीले बताएको छ।

पार्टीका प्रवक्ता प्रकाण्डका अनुसार सरकारकै तवरबाट चुनावका लागि अनुकूल वातावरण नबनिरहेको बेला चुनाव गर्छु भन्नु नौटङ्की हो। यो चुनाव कुनै हालतमा हुन नदिने उहाँले बताउनुभयो। जनसत्ता गठनको काम भइरहेको र जनसरकारले चुनाव भाँड्नुका साथै व्याप्त भ्रष्टाचार, अनियमितताका विरुद्ध भण्डाफोरका कार्यक्रमलाई तीव्ररूपमा अगाडि सारेको सो पार्टी निकट अखिल क्रान्तिकारीका महासचिव दीपेन्द्र चलाउनेले बताउनुभयो।

चुनाव भाँड्नका लागि पार्टीले प्रचारात्मक काम गर्ने सँगै स्थानीय निकायमा आफ्नो पार्टीको छुट्टै जनसरकार बनाउने विद्यार्थी संगठनका महासचिव दीपेन्द्र चलाउनेले नेपाल समाचारपत्रलाई जानकारी दिनुभयो। सरकारले वैशाख ३१ गते देशभरका स्थानीय निकायहरूमा चुनावको मिति तोकेको छ। यसका लागि कर्मचारीसमेत खटाइसकेको छ। देशभरबाट ३६ हजार ३ सय ३९ जना प्रतिनिधि उम्मेदवारका रूपमा खडा हुँदै छन्।

प्रतिक्रिया दिनुहोस्