लाँकुरीबोटमा एक घर एक धारो



सन्तोष अधिकारी, गोरखा
जिल्लाको सुलिकोट गाउँपालिका–५ मा एक घर एक धारा कार्यक्रम लागू भएको छ। उक्त कार्यक्रमअन्तर्गत पहिलो चरणमा लाँकुरीबोट गाउँमा ५१ घरमा धारा जडान छ। भूकम्पले पानीको ट्यांकी भत्काएपछि घण्टौं धाएर खानेपानी जोहो गर्दै आएका स्थानीय घरको आँगनमै पानी आउन थालेपछि खुसी भएका छन्।

‘पानी खान नपाएर हामी त काकाकुल भएका थियौं, अब त आँगनमै पानी आयो’ –भुवन गुरुङले भने। लाँकुरीबोटबाट झन्डै एक घण्टा पैदल दूरीमा पर्ने स्थानीय कामीधारालाई संरक्षण गरेर गाउँमा पानी ल्याइएको हो।

उक्त खानेपानी आयोजना निर्माणका लागि अन्तर्राष्ट्रिय गैरसरकारी संस्था अक्सफाम र स्थानीय साझेदार संस्था एकीकरण नेपालको सहयोग रहेको छ। १५ लाख रुपियाँ खर्चेर गाउँमा एक घर एक धारा जडान गरी पानी ल्याइएको एकीकरण नेपालका तुलसी धितालले जानकारी दिए। कामीधारा खानेपानी उपभोक्ता समितिका अध्यक्ष भरतबाबु थापाले १८ लाख खर्च भएको बताए। ‘हामी गाउँलेको दुःख देखर उहाँहरूले केही आर्थिक सहयोग गर्नुभयो, हामीले पनि सकेको श्रमदान गर्यौं’ –अध्यक्ष थापाले भने। सबै घरमा निर्माण भएका धाराहरू बालमैत्री रहेको छ। ‘प्रायः सबैको घरमा बालबालिका हुन्छन्’, एकीकरण नेपालका धितालले भने– ‘उनीहरूले पनि सजिलै धाराको प्रयोग गर्न सकून् भनेर बालमैत्री धारा निर्माण गर्न स्थानीयलाई अनुरोध गर्यौं त्यहीअनुसार नै निर्माण भयो।’ उक्त खानेपानी आयोजनाको विश्व खानेपानी दिवसका सन्दर्भ पारेर उद्घाटन गरिएको छ। आयोजनाको उद्घाटन गर्दै खानेपानी तथा सरसफाइ स्वच्छता समितिका संयोजक एवं जिल्ला समन्वय समितिका प्रमुख नारायण आचार्यले स्वच्छ खानेपानी पिउन पाउनुपर्ने नागरिकको नसर्गिक अधिकार भएको भन्दै आयोजना निर्माणमा सहयोग गर्ने दातालाई धन्यवाद दिए। आयोजनामार्फत् ५१ वटा घरमा व्यक्तिगत धारा जोडिएको छ भने २ वटा सामुदायिक धारा बनाइएको छ।

खानेपानीको दिगोपनलाई ध्यान राखेर मिटरसमेत जोडिएको छ। खानेपानीको उपभोक्तामार्फत् उठेको रकम कोषमा राखेर नियमित मर्मत गर्ने योजना रहेको अध्यक्ष थापाले जानकारी दिए। कति पैसा उठाउने भनेर गाउँलेले बैठक गरेर निर्णय गर्नेछन्। सोही आयोजना अन्तर्गत मुहानभन्दा माथि रहेका अन्य १० घरलाई भने लिफ्टिङ प्रविधिमा केही दिनभित्रै पानी उपलब्ध गराउने कार्यक्रम धितालले जानकारी दिए। अक्र्सफाम र एकीकरण नेपालको साझेदारीमा गोरखाको ताकुमाझलाँकुरीबोटमा खानेपानी तथा स्वच्छता प्रवद्र्धन, छात्रा मैत्री शौचालय निर्माण, आवास तथा जनचेतना तालिम, सामुदायिक भवन निर्माण, जीविकोपार्जन तथा साना व्यवसाय, सिँचाइ कुलो निर्माण, लैंगिकता र सुरक्षालगायतका विभिन्न कार्यक्रम सञ्चालन भइरहेको छ।

प्रतिक्रिया दिनुहोस्