लायन्स गभर्नरलाई पोखरामा भव्य स्वागत



टंकराज अधिकारी, पोखरा
लायन्स क्लब इन्टरनेसनल डिस्ट्रिक्ट ३२५ बी १ नेपालको हालै काठमाडौंमा सम्पन्न पाँचौं महाधिवेशनबाट नवनिर्वाचित डिस्ट्रिक्ट पदाधिकारीलाई पोखरामा रहेका सम्पूर्ण लायन्स तथा लियो क्लबले एक कार्यक्रमको आयोजना गरी स्वागत तथा सम्मान गरेका छन्।

शुक्रबार आयोजित एक कार्यक्रमा डिस्ट्रिक्ट ३२५ बी १ नेपालमा लायन वर्ष २०१७⁄२०१८ का लागि नवनिर्वाचित डिस्ट्रिक्ट गभर्नर धनराज आचार्य, डिस्ट्रिक्ट फस्ट लेडी पुष्पा आचार्य, फस्ट भाइस डिस्ट्रिक्ट गभर्नर अशोक श्रेष्ठ, सेकेन्ड भाइस डिस्ट्रिक्ट गभर्नर इन्दु लम्साल, डिस्ट्रिक्ट गभर्नर आचार्यद्वारा मनोनित क्याबिनेट सेक्रेटरी चण्डीप्रसाद अर्याल, क्याबिनेट ट्रेजरर दामु अधिकारी, चिफ डिस्ट्रिक्ट एड्भाइजर मनबहादुर रोका, को–चिफ डिस्ट्रिक्ट एड्भाइजरहरू विश्वेश्वर आचार्य र चन्द्रबहादुर केसी, फाइनान्सियल कन्सल्ट प्रमेश पराजुली र लियो डिस्ट्रिक्ट प्रेसिडेन्ट राजेन्द्र बराललगायतलाई सम्मान तथा स्वागत गरिएको थियो।

गण्डकी क्षेत्रका अग्रज लायन लिडरहरूको सक्रियतामा आयोजित कार्यक्रम पूर्वमल्टिपल काउन्सिल चेयरपर्सन दीपक श्रेष्ठको सभापतित्व र डिस्ट्रिक्टका वर्तमान गभर्नर बालाकृष्ण बुर्लाकोटीको प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो। सो अवसरमा बोल्दै डिस्ट्रिक्ट वर्तमान गभर्नर बालाकृष्ण बुर्लाकोटीले आउँदो वर्षका लागि डिस्ट्रिक्ट सबल र सक्षम नेतृत्व पाएको छ, डिस्ट्रिक्टले प्राप्त गरेको उचाइलाई अझै माथि पुर्याउन अबको नेतृत्व सक्षम हुने धारणा राखेका थिए। कार्यक्रममा पूर्वमल्टिपल काउन्सिल चेयरपर्सनद्वय राजन लम्साल र प्रेमबहादुर श्रेष्ठ, निवर्तमान डिस्ट्रिक्ट गभर्नर धु्रवबहादुर थापा, पूर्वगभर्नर योगेन्द्र प्रधान, एओजी दुर्गा ढकाल, आईटी चेयरपर्सन राम बसेल र सम्पूर्ण क्लब अध्यक्षहरूको तर्फबाट लायन्स क्लब अफ पोखरा चौतारीका अध्यक्ष विश्वकुमार बिजुक्छेले शुभकामना मन्तव्य राखेका थिए।

सो अवसरमा बोल्दै डिस्ट्रिक्ट गभर्नर धनराज आचार्यले गण्डकी क्षेत्रका लायन्सहरूबाट गरिएको स्वागत तथा सम्मानबाट आफूलाई थप उत्साह बढेको धारण राख्दै विश्वको उत्कृष्ट डिस्ट्रिक्टका रूपमा रहेको डिस्ट्रिक्ट ३२५ बी १ लाई संसारकै नमुना डिस्ट्रिक्ट बनाउन आफू लाग्ने यसमा सबैको साथ र सहयोग आवश्यक रहेको बताएका थिए। फस्ट भाइस डिस्ट्रिक्ट गभर्नर अशोक श्रेष्ठ र सेकेन्ड भाइस डिस्ट्रिक्ट गभर्नर इन्दु लम्सालले स्वागत तथा सम्मानले आफूहरूलाई थप उत्तरदायी र जिम्मेवारी बनाएको बताउँदै गभर्नरको कार्ययोजनालाई पूर्ण सफल बनाउन लाग्ने प्रतिबद्धता व्यक्त गरेका थिए।

प्रतिक्रिया दिनुहोस्