सामूहिक माछापालनमा किसान



बागलुङ, १३ चैत । काठेखोला गाउँपालिका–४ तङ्ग्रामका किसानले माछापालनबाट लाखौँ रुपैयाँ कमाउँदै आएका छन् ।

चार किसान मिलेर चार वर्षअघि सुरु गरेको सामूहिक माछापालन व्यवसायले यथेष्ट आम्दानी दिएको हो । अघिल्लो वर्ष रु चार लाखको माछा बिक्री गरेको नमुना माछा तथा बाख्रापालन समूहका अध्यक्ष रनबहादुर थापाले बताउनुभयो ।

थापासँगै बलबहादुर, पहलमान र लालसिंह थापाले रु १० लाखको लगानीमा माछापालन सुरु गरेका थिए । “वर्षमा ८०० किलोसम्म माछा बिक्री गर्छौं”, समूहका अध्यक्ष थापाले भन्नुभयो – “बर्सेनि माछापालनलाई विस्तार गर्दै लगेका छौँ ।” दस रोपनी क्षेत्रफलमा आठ वटा पोखरी निर्माण गरेर माछापालन गरिएको उहाँको भनाइ छ ।

सुरुमा पोखरीमा ३० हजार भुरा माछा छोडिएकामा गत वर्ष ३५ हजार भुरा माछा छोडिएको थियो । यो वर्ष एक लाख भुरा माछा छोडने तयारी भएको समूहका सदस्य बलबहादुर थापाले जानकारी दिनुभयो । “यो वर्षदेखि माछाको नर्सरी पनि बनाउने योजनामा छौँ”, थापाले भन्नुभयो – “अबदेखि माछाका भुरा पनि बेच्छौँ ।”

वार्षिक रु एक लाख भाडामा तङ्ग्राम धैरेनीमा लिएको २० रोपनी जग्गामा माछापालनसँगै बाख्रा, कुखुरा र हाँस पनि पाल्न थालिएको छ । पोखरीमा भुरा छोडेको छ महिनामा माछा बिक्रीका लागि तयार हुने गरेको र प्रतिकिलो रु ५००मा माछा बिक्री हुँदै आएको सदस्य थापाले बताउनुभयो ।

पोखरीमा उत्पादित सबै माछा गाउँमै खपत हुने गरेको छ । “माछापालन सफल भएको छ, यसलाई अझै विस्तार गर्ने हाम्रो योजना छ” – थापाले भन्नुभयो । पोखरीमा ग्रासकार्प, कमन, नैनी, रहु, भ्याकुर जातका माछा छ । समूहले माछापालनका लागि जिल्ला कृषि विकास कार्यालयबाट रु एक लाख २० हजार अनुदानसमेत पाएको छ ।

रु २५÷२५ हजार सेयर रकम राखेर माछापालन व्यवसाय सुरु गरिएकामा अहिले उक्त रकम बढाएर रु एक लाख पु¥याइएको छ । सुरुमा केही सामूहिक ऋण लिनुपरे पनि अहिले व्यवसाय नाफामा रहेको जनाइएको छ । भुरा टाढाबाट लिनुपर्ने, महँगो भाडा तिनुपर्ने, भनेको माछा नपाइने, हावापानी नमिल्दा भुरा मर्नेजस्ता समस्या किसानले व्यहोर्दै आएका छन् ।

समूहले वार्षिक रु ५० लाखसम्म कमाउने लक्ष्यका साथ यो व्यवसायलाई विस्तार गर्ने योजना रहेको जनाएको छ । पछिल्लो समय बागलुङमा व्यावसायिक माछापालनतर्फ किसानको आकर्षण बढ्दो छ । जिल्ला कृषि विकास कार्यालयका अनुसार अहिले जिल्लामा सयभन्दा बढी रोपनी क्षेत्रफलमा व्यावसायिक माछापालन हुँदै आएको छ ।

प्रतिक्रिया दिनुहोस्