स्थानीय निर्वाचनका लागि १८९ मतदान केन्द



Person voting

मोतीराम तिमल्सिना,काभ्रे

स्थानीय तहको निर्वाचनका लागि १ सय ८९ मतदान केन्द्र कायम हुने भएका छन् । यस अघि संविधान सभाको निर्वाचन २०७० मा १ सय ८५ मतदान केन्द्र कायम भएका थिए ।
स्थानीय निकायको पुर्नसंरचना पछि बनेको स्थानीय तहको निर्वाचनमा सबै मतदाताहरुको सुविधाका लागि कार्यालयले प्रस्ताव गरेको आयोगको मतदान केन्द्रमा दलहरुले सहमति दिएका हुन् । स्थानीय तहको निर्वाचनमा चारवटा मतदान केन्द्र थपिने भएका छन् ।

मतदान केन्द्र थपिएका स्थानहरुमा बनेपा नगरपालिकामा मात्रै तीनवटा छन् । हालको बनेपा ११ मा रहेको सरस्वती महिला सामुदायिक भवन, बनेपा ३ मा रहेको नन्दादेवी प्रावि र साविक नासिका साँगा गाविस भवन रहेको बनेपा नगरपालिका १३ नम्वर वडामा मतदात केन्द्र थपिएका छन् । त्यस्तै नमोबुद्ध नगरपालिकाको वडा नम्वर ११ मा रहेको नमोबुद्ध प्रावि र धुनपा १२ मा रहेको बथलादेवी निमावीमा मतदान केन्द्र थप गरिएको छ ।
अघि कायम भएको साविक ग्रैह्रिविसौना देउपुर गाविस समितिमा रहेको स्वास्थ्य चौकीको मतदान केन्द्र खारेज गरिएको छ । यस अघिका अन्य सबै मतदान केन्द्रहरुलाई आधार मानेर नयाँ केन्द्र कायम गरिएको जिल्ला निर्वाचन अधिकारी मधुकरप्रसाद पोखरलेले जानकारी दिए ।

मतदान केन्द्र सिफारिसका लागि प्रमुख जिल्ला अधिकारीको संयोजकत्वमा सिफारिस समिति रहेको थियो । उक्त समितिको बैठकमा जिल्ला न्यायाधीश आमन्त्रित सदस्यका रुपमा रहनेछन् । निर्वाचनका लागि मुख्य निर्वाचन अधिकृत न्यायाधीश हुने भएकाले मतदान केन्द्र सिफारिस तथा निर्वाचनका अन्य कार्यक्रमहरुमा जिल्ला न्यायाधीशहरुलाई आमन्त्रण गर्ने गरिएको पोखरेलले जानकारी दिए ।
प्रमुख जिल्ला अधिकारी शिव सिंखडाको अध्यक्षतामा पटक पटक बसेको बैठकले जिल्ला समन्वय समिति काभ्रेपलाञ्चोकका १३ वटा स्थानीय तहका १ सय ३५ वडा वडाहरुका लागि पायक पर्ने गरी मतदान केन्द्र सिफारिस गरेको हो ।

मतदान केन्द्र सिफारिस गर्नु अघि जिल्ला निर्वाचन समितिको कार्यालयले जिल्लाका सबै स्थानीय तहका कार्यकारी अधिकृत तथा निमित्त प्रमुखहरु, जिल्ला स्तरीय राजनीतिक दलका प्रमुखहरु र विभिन्न सरोकारवाला निकायका ब्यक्तिहरुसँग छलफल गरेको थियो ।

दलहरुले पनि छलफल गरी जिल्ला निर्वाचन कार्यालयको मतदान केन्द्र सिफारिस समितिलाई सुझाव दिएका थिए । जिल्लाबाट पठाईएका मतदान केन्द्रलाई केन्द्रिय निर्वाचन आयोगले अन्तिम रुप दिएको छ । आज चैत्र १० गते आयोगले देशभरका सबै मतदान केन्द्रको सूची सार्वजनिक गर्दैछ ।
जिल्लाबाट अन्तिम पटक चैत्र ५ गते केन्द्रहरुको सिफारिस भएको थियो । उक्त सिफारिसका आधारमा निर्वाचन आयोगले देशभरका मतदान केन्द्रहरुको सूची सार्वजनिक गर्न लागेको हो । स्थनाीय तह पुर्नसंरचना पछि ठृुला भएका वडाहरुमा ३ वटा सम्म मतदान केन्द्र राखिएको छ ।

मतदान केन्द्रको निर्धारण सँगै निर्वाचन आयोगले फागुन ९ गतेसम्म १८ वर्ष उमेर पुगी मतदाता सूचीमा फोटो खिचाएका मतदाताहरुको नामावली प्रकाशन गर्ने तयारी गरेको छ । अघिल्लो पटक कायम भएका मतदाताहरुको फोटो सहितको परिचय पत्र यो पटक काम नलाग्ने भएको छ । आयोगले चैत्र २० गतेसम्म मतदाताहरुको फोटो सहितको परिचयत्र प्रकाशन गरी जिल्ला जिल्लामा पठाउने तयारी समेत गरेको छ ।

यो पटक मतदाता सहितको परिचयपत्र विना मतदान गर्न पाईने छैन । अघिल्लो पटक बैद्य माओवादीले फोटो सहितको मतदाता परिचयपत्र लुटेकाले नागरिकता वा अन्य परिचयपत्रको माध्यमबाट मतदान गर्ने अवसर दिईएको थियो । यो पटक आयोगले फोटो सहितको मतदाता परिचयपत्र बाहेक अन्य प्रमाणले मतदानमा सहभागि हुन नपाउने ब्यवस्था गरेको छ ।
स्थानीय जिल्लामा २५ वटा दलले स्थानीय तहको निर्वाचनमा भाग लिने गरी दल दर्ता गरे पनि निर्वाचन आयोगले निर्वाचन केन्द्र तोक्ने विषयमा छलफल गर्न संविधान सभामा प्रतिनिधित्व गरेका ११ दललाई मात्रै बोलाउने गरेको छ । निर्वाचन आयोगको केन्द्रिय कार्यालयमा भने ११३ दल दर्ता भएका छन् ।

प्रतिक्रिया दिनुहोस्