बजार निर्माणको काम रोकियो



नेपाल समाचारपत्र
काठमाडौं
उपभोक्ता तथा व्यवसायीलाई मध्यनजर गर्दै चालू आर्थिक वर्षभित्र निर्माण सम्पन्न गर्ने लक्ष्य लिइएको फलफुल तथा पुष्प बजारको काम रोकिएको छ। काठमाडौंको चोभारमा बन्न लागेको उक्त बजार केही महिना काम शुरु गरेपछि एक महिनादेखि निर्माणको काम रोकिएको हो।

हाल निर्माण र विस्तारको काम भईरहेको बाहिरी चक्रपथका कारण बजार निर्माणको काम रोकिएको कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिका कार्यकारी निर्देशक तेजेन्द्रप्रसाद पौडेलले बताउनुभयो।

बजार निर्माण हुन लागेको क्षेत्र र बाहिरी चक्रपथको सडक एकै ठाउँमा परेपछि समितिले काम रोकेको पौडेलले बताउनुभयो।

नेपाल समाचारपत्रसँग कुरा गर्दै पौडेलले उपत्यका विकास प्राधिकरणले समितिलाई बजार निर्माणका लागि अनुमति दिइसकेको र सोही ठाउँबाट जाने भनिएको बाहिरी चक्रपथको बाटो केही हेरफेर हुनसक्ने बताउनुभयो।

त्यस्तै नक्सा पासको विषयमा देखिएको समस्या पनि समाधान भएकाले चाँडै नै निर्माणको काम शुरु हुने पौडेलले बताउनुभयो।

चोभारमा अत्याधुनिक र व्यवस्थित बजार निर्माणका लागि ३७ करोड रुपियाँ अनुमानित निर्माण लागत रहेको रहेको छ। २३ रोपनी सरकारी जग्गामा निर्माण हुन लागेको बजार अबको एक वर्षमा निर्माण भईसक्ने लक्ष्य राखिएको छ।
कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले यसअघि काठमाडौं उपत्यका सहित विभिन्न ३ स्थानमा शाखा बिस्तार गर्ने निर्णय गरेको थियो। काठमाडौंको चोभार, बालाजु र धादिङको नौबिसेमा आधुनिक र व्यवस्थित बजार निर्माण गर्न लागेको हो।
बजार निर्माणले व्यवसायी र ग्राहक दुवै लाभान्वित हुने र कृषि बजारलाई व्यवस्थित एवम् आधुनीक तरिकाले सञ्चालन गर्नका लागि नयाँ बजार को व्यवस्था गर्न लागिएको कार्यकारी निर्देशक पौडेलले बताउनुभयो।

प्रतिक्रिया दिनुहोस्