अस्ट्रेलिया पहिलो दिनमै अलआउट



नयाँ दिल्ली, (एजेन्सी)
अस्ट्रेलियाका कप्तान स्टिभ स्मिथले शतक बनाउँदा उनको टोलीले भारतविरुद्धको चौथो टेस्टमा ३ सय रन जोडेर पहिलो दिनमा नै अलआउट भएको छ।

हिमाञ्चल प्रदेशको धर्मशाला मैदानमा शनिबारदेखि चौथो तथा निर्णायक टेस्ट शुरु भएको हो। जसमा भ्रमणकारी टोली अस्ट्रेलियाले पहिलो इनिङमा सबै विकेट गुमाएर ३ सय रन जोडेको हो। लन्च अगाडिसम्म अस्ट्रेलिया १३१–१ को बलियो स्कोरमा थियो। तर लन्च पछि लगातार ५ विकेटको क्षेति बेहोर्दा टोली संघर्षरत स्थितिमा पुगेको थियो। मध्यक्रममा विकेटकिपर ब्याटसम्यान म्याथ्यु वेडले ५७ रन जोड्नु नै टोलीले तीन सय रन कटाउन मद्दत पुगेको हो।

कप्तान स्मिथको यो सिरिजमा तेस्रो सतक तथा करिअरको २०औं सतक थियो। उनी छैटो विकेटको रूपमा आउट हुन अगाडि उनले १ सय ११ रन बनाएका थिए। ओपनर ब्याटसम्यान डेविड वार्नरसँग दोस्रो विकेटको लागि १ सय ३४ रनको साझेदारी गरे। वार्नर ५६ रनमा कुलदीप यादवको सिकार बनेपछि अस्ट्रेलियामाथि भारतले नियन्त्रणमा लिएको थियो। यसपछि अन्य शीर्ष ब्याटसम्यानले टोलीलाई ठोस योगदान दिन नसक्दा अन्तिम ९ विकेट १ सय ६९ रनमै गुमाउन पुग्यो।

यसअघि टस हारेर फिल्डिङ रोजेको भारतले पहिलो सेसनसम्म एक विकेट म्याथ्यु रेनशाको एक मात्र विकेट लिएका थिए। उमेश यादवले विराट कोहलीविनाको टोलीलाई पहिलो सफलता दिलाएका थिए। कोहली चोटका कारण टिममा सहभागि हुन नसकेपछि आजिन्क्य रहाणेले भारतीय टोलीका कप्तानी भार सम्हालेका छन्।

लन्च अगाडि एक मात्र सफलता हासिल गरेको भारतले लन्च पछि डेब्यु गरेका बायाँ हाते स्पिनर कुलदीप यादवको सानदार बलिङमा पुनरागमन गरेको थियो। कुलदीपले डेविड वार्नर, पिटर हेन्डकोम्ब (८ रन), ग्लेन म्याक्सवेल (८ रन), प्याट कमिन्स (२१ रन) लाई पवेलियन फर्काएर पहिलो टेस्टमै चार विकेट लिन सफल भएका थिए। उमेशले दुई विकेट लिए भने रवीन्द्र जडेजा र आर अश्विनले १–१ विकेट लिएका थिए।

प्रतिक्रिया दिनुहोस्