कैलालीमा १ सय २३ सीमास्तम्भ हराए



हेमन्त पौडेल, कैलाली
नेपाल भारतको सीमा छुट्याउने जंगेपिलरसहित १ सय २३ सीमास्तम्भहरू हराएका छन्। कैलाली जिल्लाको क्षेत्रमा पर्ने सीमा क्षेत्रबाट उक्त स्तम्भहरू हराएका हुन्। भारतले कैलालीका विभिन्न क्षेत्रहरूमा सीमा अतिक्रमण गर्ने क्रममा सीमास्तम्भहरू भारतीयहरूले गायब पारेको आरोप नेपाली पक्षले लगाउने गरेका छन्। सीमास्तम्भ हराएको वर्षौं बिते पनि पुनर्निर्माणको काम भने हुन सकेको छैन।

कैलालीको विभिन्न क्षेत्रका सीमा नाकामा रहेका २० जंगेपिलर र १०३ सहायक पिलर गरेर १ सय २३ सीमास्तम्भ हराए पनि कति जग्गा अतिक्रमण भएको छ भन्ने तथ्यांक कैलाली जिल्ला प्रशासनसंग नभएको प्रमुख जिल्ला अधिकारी गोविन्दप्रसाल रिजालले जानकारी दिनुभयो। कैलालीको सीमामा ५३ जंगेपिलर र सहायक २ सय २९ गरी २८२ पिलर हुनुपर्नेमा १ सय २३ हराएपछि १ सय ५९ रहेका छन्।

वर्षातको समयमा आउने बाढीका कारण कहियौं सीमास्तम्भ हराउने गरेको, केही स्तम्भहरू भारतीयहरूले गायब पार्ने गरेको अवस्थाले सीमास्तम्भहरू नियमित हुन सकेको अवस्था छैन। पुनर्निर्माण गर्नुपर्ने अवस्थामा रहेको पिलरहरूको अढाइ वर्षदेखि पुनर्निर्माण हुन सकेको छैन। नेपाल भारतको संयुक्त बैठकमा सीमास्तम्भहरू मर्मत गर्ने निर्णय हुने गरे पनि कार्यान्वयन हुन नसकेको अवस्था रहेको छ।

भारतको लखिमपुर जिल्ला र नेपालको कैलालीका सुरक्षा अधिकारीबीच २०७० साल असोजमा धनगढीमा भएको सीमा बैठकमा दुवै देशका सीमास्तम्भको मर्मत र रङरोगनको काम गर्ने सहमति भएपछि २०७१ को जेठदेखि दुवै देशका टोलीले सीमास्तम्भ मर्मतको काम गर्ने भनिएको थियो तर हराएका पिलहरूको खोजीकार्य भने हुन सकेको छैन।

बैठकमा सहमति भएअनुसार बिजोर नम्बरका पिलरको मर्मत र रङरोगनका नेपालले र जोर नम्बरका पिलरको भारतीय पक्षले गर्ने भनिएको थियो। नेपालतर्फ नापी विभागका इन्जिनियर कृष्णबहादुर थापा र उदय शेर्मा लिम्बू तथा भारतका तर्फबाट इन्जिनियर डीआर अर्याल र राजेशकुमार बर्मा नेतृत्वको टोलीले कैलालीमा पर्ने सीमा क्षेत्रका पिलरको मर्मत र रङरोगनको गर्ने जिम्मा दिएको थियो। नेपाल र भारतको सीमा विभाजन गर्दै बगिरहेको मोहना नदीले हरेक वर्षजस्तो धारपरिर्वतन गर्दै पिलर बगाएको भएता पनि मर्मत तथा पुनर्निर्माणको काम हुन नसकेको प्रमुख जिल्ला अधिकारी रिजालको भनाइ रहेको छ । कैलालीको दक्षिण अथवा भारतसँग सीमाना जोडिएको स्थानमा मोहना नदी बग्ने भएकाले सीमा पिलरहरू बाढीमा बग्ने गरेका छन्।

जिल्लाको सीमा नाकामा रहेको सीमा पिलर हराएको वर्षौं बितिसक्दा पनि पुनर्निर्माणमा ध्यान नदिनु सरकारको कमजोरी रहेको स्थानीय बासिन्दा उदयचन्द्र बोहराले बताउनुभयो। उता विगत लामो समयदेखि सीमा स्तम्भहरू मर्मत गर्ने सम्बन्धमा दुई देशबीच बैठकसमेत हुन नसकेको प्रमुख जिल्ला अधिकारी रिजालले जानकारी दिनुभयो। ‘सीमास्तम्भ मर्मत तथा पुनर्निर्मामाण कुनै एक देशले मात्र गर्ने भन्ने हुदैंन। यसका लागि नेपालबाट सीमा जोडिएको जिल्लाका प्रमुख जिल्ला अधिकारी र भारतको तर्फबाट डीएमको संयुक्त बैठकले मर्मत तथा निर्माण गर्ने भन्ने निर्णय गर्नुपर्दछ।’ उहाँले भन्नुभयो। कहिल्यै नेपालको त कहिल्यै भारतको विभिन्न कारणले बैठकसमेत बस्न सकेको छैन, त्यो भएर सीमास्तम्भहरू मर्मत तथा पुनर्निर्माण हुन नसकेको प्रमुख जिल्ला अधिकरी रिजालले बताउनुभयो।

हरेक ६⁄६ महिनामा एकपटक भारतमा र एक पटक नेपालका सीमा क्षेत्रको बारेमा छलफल तथा देखिएका समस्या समाधानका लागि बैठक बस्नुपर्ने भन्ने भए तापनि साढे ३ वर्षदेखि बैठक बस्न सकेको छैन। चार वर्ष पहिला कर्णाली नदीको छेउमा रहेका पिलर संख्या सात सयदेखि मर्मत शुरु भएर पश्चिममा ७७२ (६) सम्मका ७९ पिलरको मर्मत गरिएको थियो। यी स्तम्भमध्ये दुईवटा मात्रै राम्रो अवस्थाका रहेका थिए। चार वर्ष पहिला मर्मतको समयमा भारले १८ वटा सीमास्तम्भको मर्मत रोकेको थियो । पिलर मर्मतका क्रममा धेरै स्थानमा कमजोर जग भएका पिलर बगेको निष्कर्ष तत्कालीन समयमा पिलर मर्मतमा खटिएको नापी विभागको टोलीले निकालेको थियो।

‘अहिलेसम्म पिलरको जग कति हुने भन्ने प्रावधान नै छैन। अब जगको आधार तोकेर पिलर राखिनुपर्छ’, सीमा क्षेत्रमा रहेका पिलर मर्मत तथा पुनर्निर्माणको काम गरिसकेका इन्जिनियर केबी थापाले बताउनुभयो। नयाँ मुलुक भनेर नेपाललाई दिइएको क्षेत्र भएकाले भारतको राजस्थानबाट ढुंगा ल्याएर ब्रिटिसले पिलर हालेको र पिलरको जग नै नभएकाले बाढीले अधिकांश बगेको बताइएको छ। राजस्थानका ढुंगा गाढेर बनाइएका पिलर हराएपछि भारत र नेपाल दुवैतर्फको भूमि केही स्थानमा अतिक्रमणमा परेको छ –सशस्त्र सीमा सुरक्षा बल कैलालीका प्रमुख एसपी गणेशबहादुर संग्रौलाले बताउनुभयो। सशस्त्र प्रहरीले सीमा क्षेत्रमा रहेका सीमास्तम्भहरूको सबै अभिलेख स्पष्ट रूपमा राखेको र अधिकांश मर्मत तथा पुनर्निर्माण गर्नुपर्ने अवस्था रहेको उहाँले बताउनुभयो।

प्रतिक्रिया दिनुहोस्