‘हरेक महिलामा स्तन क्यान्सरको जोखिम’



काठमाडौं, (नेस)। ब्लुक्रस अस्पतालले शनिबार आफ्नो २५औं वार्षिकोत्सवको अवसरमा स्तन क्यान्सरसम्बन्धी जनचेतनामूलक कार्यक्रम गरेको छ। कार्यक्रमको प्रमुख अतिथिको रूपमा रहेका डा. प्रज्वलमान श्रेष्ठले स्तन क्यान्सरसम्बन्धी कार्यक्रम गरेर मानिसहरूलाई जनचेतना फैलाउन पाएकोमा खुसी व्यक्त गरे।
कार्यक्रममा ब्लुक्रस अस्पतालकी क्यान्सर विशेषज्ञ डा. आरती शाहले हरेक महिलामा स्तन क्यान्सरको जोखिम रहेको बताइन्। उनले महिलामा मात्र होइन यसको जोखिम पुरुषमा पनि रहेको बताउँदै नेपालमा १ सय जना महिलामा कम्तीमा १० जना महिलालाई स्तन क्यान्सर हुने गरेको दाबी गरिन्। विशेष गरी ४०–५० वर्षको महिलालाई स्तन क्यान्सर लाग्ने बताउँदै उनले त्योभन्दा कम उमेरमा लाग्न सक्ने तथ्य खोल्दै समयमै सजगता अपनाउन सके यसबाट बच्न सक्ने बताइन्।

चिकित्सकका अनुसार स्तन क्यान्सरको लक्षणहरूमा स्तनमा गाँठो पर्ने, स्तनको आकारमा परिवर्तन हुने, स्तनको मुन्टाबाट तरल पदार्थ निस्कने वा छालामा रातो–रातो दागहरू देखा पर्न सक्छन्। यस्ता लक्षण देखिनेबित्तिकै उपचारका लागि अस्तापताल गइहाल्नुपर्ने चिकित्सकहरूको सुझाव छ।

गर्भनिरोधक चक्कीको प्रयोग, विषादियुक्त खाद्य पदार्थको उपभोग, बच्चा नभएका महिलामा, वंशाणुगत आदि कारणले स्तन क्यान्सर हुन सक्छ। स्तन क्यान्सरबाट बच्न घरमा पनि आफैं जाँच्न सकिने बताउँछिन् डा. शाह। उनका अनुसार ४० देखि ५० वर्ष उमेरका महिलाले वर्षमा १ चोटी स्तन परीक्षण गर्नुपर्ने हुन्छ।
स्तन क्यान्सर परीक्षण गर्न म्यामेग्राम (स्तनको एक्सरे) गराउँदा क्यान्सर पत्ता लाग्न सक्छ। पेट स्क्यान यसको अझ उत्तम विकल्पको रूपमा हुन सक्छ।

प्रतिक्रिया दिनुहोस्