मधेसी मोर्चामा ध्रुवीकरण तीव्र फोरम नेपालबाहेकका दलहरू एकीकरणमा जान सक्ने



बीपी साह, काठमाडौं
‘थ्रेसहोल्ड’मा कडाइ भएपछि संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाभित्र नयाँ ध्रुवीकरण हुँदै छ। मोर्चामा आबद्ध दलहरूले औपचारिकरूपमै एकताका लागि आह्वान गर्दै छन्। यसअघिको बैठकमा मोर्चाभित्रका दलहरूबीच एकीकरणका बारे छलफल भए पनि टुंगो लागेको थिएन। अब बस्ने मोर्चाको बैठकमा मोर्चाको सचिवालयले पार्टी एकीकरणका बारे औपचारिक रूपमै प्रस्ताव राख्ने भएको छ।


प्रमुख तीन पार्टीले थ्रेसहोल्ड ल्याएपछि मधेसी मोर्चाका प्रमुख पार्टीहरूले खासै विरोध गरेनन्। मोर्चामा आबद्ध संघीय समाजवादी फोरम नेपाल र तराई–मधेस लोकतान्त्रिक पार्टीले थ्रेसहोल्डको विरोध गरेनन् तर मोर्चाका अन्य घटकहरूले चर्को विरोध गर्दै छन्। विरोध गर्दागर्दै पनि मोर्चाभित्र नयाँ समीकरण निर्माण हुँदै छ। विजय गच्छदार नेतृत्वको मधेसी जनअधिकार फोरम नेपाल (लोकतान्त्रिक)बाट पार्टी टुक्रइउँदै केही नेताहरू मधेसी मोर्चामा आबद्ध हुन खोज्दै छन्।

तमलोपा र सद्भावना पार्टीबीच एकीकरण भएको खण्डमा विजय गच्छदारको पार्टीबाट बाहिरिने नेताहरू पनि एकीकृत पार्टीमा सहभागी हुने सम्भावना रहेको छ। यता तमलोपा र सद्भावनाको एकीकरण प्रक्रिया पुनः अगाडि बढेको छ।

आफूहरूलाई एकीकरणमा सहभागी नगराइए शरद् सिंह भण्डारी नेतृत्वको रासपा, महेन्द्र यादव नेतृत्वको तमसपा, अनिल झा नेतृत्वको नेसपा र राजकिशोर यादव नेतृत्वको फोरम गणतान्त्रिक एकीकृत हुन सक्ने सम्भावना रहेको छ। तर महेन्द्र यादव नेतृत्वको तमसपा उपेन्द्र यादव नेतृत्वको पार्टी डा. बाबुराम भट्टराईको नयाँ शक्ति पार्टीसँग एकीकरण गरेको खण्डमा त्यसमा सहभागी हुनेछन्। यता राजकिशोर यादव नेतृत्वको फोरम गणतान्त्रिक राजेन्द्र महतो नेतृत्वको सद्भावनामा विलय हुने सम्भावना बढ्दै गएको छ।

मधेसी मोर्चाभित्र एकीकरणका लागि प्रयास गरिरहेका एक मधेसी अगुवाका अनुसार उपेन्द्र यादवबाहेकका अन्य मोर्चाका सबै दललाई एकीकृत पार्टी बनाउने तयारी हुँदै छ।

त्यो सम्भव नभए उपेन्द्रबाहेकका सबै दलले एउटै मोर्चाबाट चुनाव लड्ने वातावरण बनिरहेको उनले बताए। तराई–मधेस लोकतान्त्रिक पार्टीका उपाध्यक्ष बृशेष चन्द्र लाल भन्नुहुन्छ– ‘मधेसी मोर्चाभित्रका दलहरूको एकीकरण हुनु आवश्यक छ। थ्रेसहोल्डमा कडाइ भएपछि हामी एकीकरणको प्रयासलाई तीव्रता दिँदै छौं।’

उपाध्यक्ष लालले अहिले निर्वाचनमा जाने वातावरण नबने पनि मधेसवादी दललाई शक्तिशाली बनाउन पार्टीहरूबीच एकीकरण आवश्यक रहेको बताउँदै अब एकीकरणका विषयमा छलफल शुरू भएको बताउनुभयो। तमलोपा र सद्भावना निकट भविष्यमा एकीकरण हुने सम्भावना बढ्दै गएको लाल बताउनुहुन्छ।

यता सद्भावना पार्टीका सहअध्यक्ष लक्ष्मण लाल कर्णले पनि अहिले मोर्चाभित्र नयाँ ध्रुवीकरण हुन लागेको बताउनुभयो। उहाँले भन्नुभयो– ‘एकीकरणको विकल्प छैन। त्यसैले हामी पहिलेदेखि नै मधेसवादी दलहरूबीच एकीकरण हुनुपर्छ भन्दै आएका छौं। हाम्रो पार्टी एकीकरणका लागि तयार छ। अन्य दलहरूले अब आवश्यकता ठानेका छन्। एकीकरणको प्रक्रिया अगाडि बढ्ला जस्तो छ।’

आगामी निर्वाचनमा मधेसी मोर्चाभित्रका दलहरू एकीकृत भएर जान नसके अधिकांश दलले राष्ट्रिय पार्टीको मान्यता पाउन सक्नेछैनन्। राष्ट्रिय दलको हैसियत बनाउन मोर्चाभित्रका शीर्ष नेतृत्वले नयाँ समीकरण निर्माणमा ध्यान दिन थालेको पाइएको छ।

प्रतिक्रिया दिनुहोस्