पूर्ण सरसफाइका लागि ‘टोल शिक्षा’



मोतीराम तिमल्सिना, काभ्रे

सरकारको नेपाललाई पूर्ण सरसफाइ र खुल्ला दिसामुक्त बनाउने अभियानलाई सामाजिक संघसंस्थाहरूले योगदान पुर्याउन थालेका छन्। भूकम्पका कारण क्षतविक्षत भएका शौचालयहरूको पुनर्निर्माण, खानेपानीका मुहानहरूको संरक्षण र प्रर्वद्धन तथा क्षमता अभिवृद्धि, सरसफाइ र सरकारले तोकेका सरसफाइका सूचकहरू कार्यान्वयन गराउँदै पूर्ण सरसफाइ गराउने अभियान टोलबाट शुरु भएको हो।

भूकम्प गए लगत्तै तत्काल राहत र उद्धारको कार्यमा खटिएको क्रिडाक नेपालले काभ्रेपलाञ्चोक जिल्लाका साविक तीनवटा गाउँ विकास समितिमा पूर्ण रूपमा सरसफाइ अभियान सञ्चालनमा ल्याएको छ। ज्याम्दी, खरेलथोक र कोशीदेखा गाउँलाई पूर्ण सरसफाइ बनाउन अभियानकै रूपमा कार्यक्रम शुरु गरिएको जिल्ला कार्यक्रम संयोजक राजन भुर्तेलले जानकारी दिए। पहिलो चरणमा उक्त गाउँहरूका सबै घरघरमा शौचालय निर्माण, शौचालय निर्माणसँगै त्यसको पूर्णप्रयोग र प्रयोगपछिको सरसफाइ, खानेपानीको व्यवस्थापन र प्रयोग, त्यसको अलावा पूर्ण सरसफाइमा ध्यान दिइएको छ।

‘सरकारले तय गरेका पूर्ण सरसफाइका सबै सूचांक पूरा हुने गरी प्रत्येक घरमा झुण्डाइएका बोर्डहरूमा साप्ताहिक रूपमा अनुगमन हुने गरेको छ’ कार्यक्रम संयोजक भुर्तेलले भने– ‘पूर्ण सरसफाइका लागि टोलबाट शुरू भएको अभियान वडा हुँदै सिंगो गाउँपालिका र जिल्लासम्म पुग्ने योजनामा सहयोग गरिरहेका छौं।’ पूर्ण सरसफाइका लागि खरेलथोक खुल्ला दिशामुक्त घोषणाका लागि तयार भएको छ भने कोशीदेखा पूर्ण खुल्ला दिशामुक्त गाउँ घोषणा भएको छ। ज्याम्दीका सबै वडाहरूमा त्यो कार्यक्रम सम्पन्न भएको छ। खुल्ला दिशामुक्त घोषणाका लागि निम्न आय स्तर भएका केही परिवारलाई पूर्ण रूपमा शौचालय बनाउन क्रिडाक नेपालले सहयोग गरेको छ भने भूकम्पबाट क्षति भएका शौचालयहरूको निर्माणका लागि ५ हजारबराबरको सहयोग गरेको भुर्तेलले बताए।

त्यस्तै पूर्ण सरसफाइका लागि आवश्यक पर्ने खानेपानीको व्यवस्थापनमा क्रिडाकले विशेष ध्यान दिएको छ। खानेपानी नभएको स्थानमा पाइप खरिद गरी व्यवस्थापन गर्ने, ट्यांकि तथा अन्य रिजभरेसन गरिएका स्थानको सरसफाइ, पानीको शुद्धीकरण, क्षमता वृद्धि गर्ने काम तीनवटै गाउँमा भइरहेको छ। सन् २०१८ सम्म पूर्ण सरसफाइका लागि काम गरिरहने भुर्तेलले बताए। सोही गाउँमा भएका विद्यालयहरू, अन्य सामाजिक संघसंस्थाहरू गाउँका वडा कार्यालय, स्वस्थ्य चौकी तथा सामाजिक संघसंस्थाहरूमा पनि पूर्ण सरसफाइका कृयाकलापका बारेमा जानकारी गराउँदै नियमित अनुगमन गर्न शुरू गरिएको छ। पहिलो चरणमा ज्याम्दी र खरेलथोकका तीन⁄तीन वटा टोललाई पूर्ण सरसफाइका लागि टोल शिक्षा प्रदान गरिएको उनले बताए।

क्रिडाकले काभ्रेपलाञ्चोक जिल्लाका सिसाखानी, महादेवटार, खनालथोक, संस्र्युखर्क, फलाँटे, सल्लेभुम्लु, भुम्लुटार, सापिङ, माझिफेदा, कुशादेवी र खार्पाचोक गाउँमा पक्कि स्वस्थ्य चौकीको निर्माण गर्न शुरू गरेको छ भने यसअघि तत्कालका लागि निर्माण गरिएका बालुवापाटी, अनेकोट, देवीटार र दोलालघाटका उपस्वास्थ्य चौकीबाट स्थानीयहरूले सेवा लिन शुरू गरेका छन्। झण्डै ११ करोड रकम स्वास्थ्य क्षेत्रमा खर्च गर्ने कार्यक्रम रहेको जिल्ला संयोजक भुर्तेलले जानकारी दिए।

प्रतिक्रिया दिनुहोस्