काठमाडौंमा रेल ल्याउनेबारे छलफल



काठमाडौं (नेस)

धानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ एसियाका लागि बोआओ मञ्चको वार्षिक सम्मेलनमा भाग लिन शुक्रबार हाइनान प्रान्तको बोआओ पुग्नुभएको छ। प्रधानमन्त्रीसँग चीनका उपप्रधानमन्त्री झाङ गोलीले शुक्रबार नै भेटघाट गर्नुभएको छ। सो अवसरमा उहाँहरूबीच नेपाल–चीन सम्बन्धका विभिन्न आयामको बारेमा छलफल भएको बताइएको छ।

प्रधानमन्त्री र चिनियाँ उपप्रधानमन्त्रीबीचको भेटघाटका क्रममा केरुङदखि काठमाडौं तथा पोखरासम्मको रेलमार्ग विस्तार र तातोपानी नाका पुनः सुचारु गर्ने बारेमा पनि छलफल भएको बेइजिङस्थित नेपाली दूतावास स्रोतले बताएको छ। प्रधानमन्त्रीले सो अवसरमा वान बेल्ट वान रोडको चिनियाँ अवधारणामा नेपाल सकारात्मक रहेको र चाँडै सम्झौता गर्ने बचन दिनुभएको बताइएको छ। प्रधानमन्त्री प्रचण्ड आज बोआओ फोरममा सम्बोधन गरेपछि द्विपक्षीय वार्ताका लागि आजै बेइजिङ प्रस्थान गर्दै हुनुहुन्छ।

यसैबीच नेपाल भ्रमणमा रहनुभएका चीनका रक्षामन्त्री जनरल चाङ वानक्वानले राष्ट्रपति विद्यादेवी भण्डारीसँग शिष्टाचार भेट गर्नुभएको छ। नेपाल भ्रमणमा रहनुभएका चीनका रक्षा मन्त्री चाङ वानक्वानले भूकम्पपछि रोकिएको तातोपानी नाका खुलाउन आफ्नो सरकारले छिट्टै पहल गर्ने बताउनुभएको छ।

रक्षामन्त्री चाङले उपप्रधान तथा गृहमन्त्री विमलेन्द्र निधिसँग भएको भेटमा नेपालले आग्रह गरेको तातोपानी नाका खुलाउन पहल गर्ने आस्वासन दिएको गृह मन्त्रालयले जानकारी दिएको छ।

चिनियाँ रक्षामन्त्री चाङ र उपप्रधानमन्त्री निधिबीच भएको भेटमा आपसी हित र सहयोग आदान प्रदानका विषयमा कुराकानी भएको थियो। नेपाल प्रहरी र सशस्त्र प्रहरीको सञ्चार प्रणाली आधुनिकीकरण गर्ने, गृह मन्त्रालयका अधिकारी तथा नेपाल प्रहरी र सशस्त्र प्रहरीको क्षमता अभिवृद्धिका लागि तालिम उपलब्ध गराउने विषयमा पनि छलफल भएको थियो।

गृहमन्त्री निधिले नेपाल र चीनबीच लामो समयदेखि गहिरो र आत्मीय सम्बन्ध रहिआएको उल्लेख गर्दै यस किसिमका भ्रमणले दुई देशबीचको सम्बन्ध थप सुदृढ हुने बताउनुभयो। भेटमा गृहमन्त्री निधिले एक चीन नीतिप्रति नेपालको दृढ समर्थन रहेको बताउँदै नेपाली भूमिबाट चीन विरोधी गतिविधि हुन नदिने प्रतिबद्धता जनाउनुभयो। उहाँले नेपालको राजनीतिक स्थायित्व र आर्थिक विकासका लागि चिनियाँ सहयोग महत्वपूर्ण रहेको बताउँदै सहयोगका लागि आभार व्यक्त गर्नुभयो।

गत वर्षको भूकम्पपछि बन्द रहेको तातोपानी नाका खुलाउनेतर्फ पहल गर्न मन्त्री निधिले रक्षामन्त्री चाङको ध्यानाकर्षण गराउनुभयो। त्यस अवसरमा चाङले अरनिको राजमार्ग पुनर्निर्माणलाई चीन सरकारले उच्च प्राथमिकता दिने बताउँदै आफू स्वदेश फर्किएपछि यस विषयमा थप कुराकानी गर्ने उल्लेख गर्नुभयो। साथै, उहाँले असल छिमेकीका नाताले नेपालको विकास निर्माणमा चीन सरकारले सदैव सहयोग गर्ने पनि बताउनुभयो।

गृहमन्त्री निधिले सशस्त्र प्रहरी तालिम केन्द्र निर्माणका लागि चीन सरकारले गरेको सहयोगका लागि धन्यवाद दिनुभएको थियो। यसैबीच रक्षा मन्त्री चाङले प्रधानसेनापति राजेन्द्र क्षत्रीसँग पनि भेट गर्नुभएको छ।

उक्त भेटघाटका क्रममा प्रधानसेनापति र चीनका रक्षामन्त्रीबीच द्विपक्षीय आपसी हित र पारस्परिक सम्बन्धको विषयमा छलफल भएको थियो।

 

 

प्रतिक्रिया दिनुहोस्