मृगौला पीडितलाई घर



नेपाल समाचारपत्र
गुल्मी

श्रीमान्को दुवै मृगौला फेल भएर मृत्यु भएपछि बिचल्लीमा परेको गुल्मीको एक परिवारलाई गुल्मी केयर विश्व सञ्जालले घर बनाइदिइको छ। केही समय पहिला रोजगारीको सिलसिलामा विदेशमा रहेका श्रीमान्को मृगौला फेल भएर मृत्यु भएपछि बिचल्लीमा परेका गुल्मी बलेटक्सार–४ निवासी गीता विकलाई बस्नका लागि घर निर्माण गरिदिएको हो। गुल्मी तथा देशका विभिन्न स्थानबाट विदेशमा रहेका नेपाली मिलेर संगठित संस्था गुल्मी केयर विश्व सञ्जालले जिल्लामा विभिन्न विपद्, दैविक प्रकोप तथा आर्थिक अभावमा उपचारमा समस्या भएकालाई सहयोग गर्दै आएको छ।

गीतालाई श्रीमान्को मृत्युपछि खाना र बस्नका लागि घरलगायतका समस्या भएको खबर सार्वजनिक भएपछि गुल्मी केयर विश्व सञ्जालले घर निर्माण गर्न अभियान सञ्चालन गरेको थियो। स्थानीय विद्यालयले दिएको सार्वजनिक जग्गामा सानो झुपडीमा बस्दै आएका विक परिवारलाई सञ्जालले २ लाख ३० हजारमा घर बनाइदिएको संस्थाका कोषाध्यक्ष सागर कार्कीले जानकारी दिए।

सञ्जालले दुईवटा कोठा र एउटा ट्वाइलेट बाथरुमसहितको घर बनाइदिएको छ। सञ्जालका प्रतिनिधिले गीता विकको घर बनाउन स्थानीय ताराबहादुर रानालाई ठेक्का दिएको सञ्जालका उपाध्यक्ष विद्या कार्कीले जानकारी दिइन्। सञ्जालले एक कार्यक्रममका बीच निर्माण सम्पन्न घर गीतालाई हस्तातरण गरेको उपाध्यक्ष कार्कीले जानकारी दिइन्। घर बनाउन सहयोग गर्नेप्रति गीताले सबैलाई धन्यवाद दिइन्। गीताका २ छोरा छन् उनलाई पढ्न पनि समस्या रहेको छ।

प्रतिक्रिया दिनुहोस्