हिन्दु राष्ट्र र राजतन्त्र राप्रपाको मुटु हो – राणा



नेपाल समाचारपत्र
भक्तपुर
राप्रपाका वरिष्ठ नेता पशुपतिशमशेर राणाले हिन्दु राष्ट्र र संवैधानिक राजतन्त्र पार्टीको मुटु भएकाले कोही कसैले यसलाई पार्टीको विधानबाट हटाउन नसक्ने बताउनुभएको छ। राप्रपा भक्तपुर निर्वाचन क्षेत्र नम्बर १ ले आयोजना गरेको कार्यकर्ता भेलामा बोल्दै नेता राणाले राप्रपाको मूल एजेन्डामाथि निर्वाचन आयोगले हस्तक्षेप गरेर गैरजिम्मेवारपूर्ण कार्य गरेको बताउनुभयो।

उहाँले यही एजेन्डा बोकेर दुईवटा निर्वाचन सम्पन्न गरिसकेको र २०७० सालको निर्वाचनमा हिन्दु राष्ट्र बनाउन लोकप्रिय जनमत प्राप्त गरेको बताउनुभयो। राणाले पार्टीको यही दुईवटा विचार र सिद्धान्तका आधारमा स्थानीय तहको निर्वाचनमा सहभागी हुने र देशभर जित हासिल गर्ने दाबीसमेत गर्नुभयो।
कार्यक्रममा नेता राणाले निर्वाचन आयोगले राप्रपाको विधानबाट हिन्दु राष्ट्र र संवैधानिक राजतन्त्र हटाएर गल्ती गरेको बताउँदै यो निर्णय नसच्याएसम्म पार्टीले सरकार, सदन र सडकमा आन्दोलन जारी राख्ने बताउनुभयो। उहाँले स्थानीय तहको निर्वाचनमा पार्टीको संगठन बलियो रहेको क्षेत्रमा एक्लै र कमजोर संगठन रहेको क्षेत्रमा समीकरण गरेर निर्वाचनमा भाग लिने बताउनुभयो।

कार्यकर्ता भेलामा पार्टीका प्रवक्ता भुवन पाठकले कांग्रेस, एमाले र माओवादी केन्द्र तीन दलको भागवण्डामा गठन भएको आयोगले राप्रपाको एजेन्डालाई कमजोर बनाउन हिन्दु राष्ट्र र संवैधानिक राजतन्त्र हटाएको बताउँदै यस्तो निर्णय नसच्याए सत्ता छोडेर आन्दोलनमा होमिन बाध्य हुने बताउनुभयो। सो अवसरमा पार्टीका केन्द्रीय सदस्य रवीन्द्रप्रताप शाह, यवती कार्की, रामशरण लामिछानेलगायतले ठूला ३ दलको विकल्पका रूपमा राप्रपा निर्वाचनमा होमिइसकेकाले स्थानीय तहको निर्वाचनमा सक्रिय भएर लाग्न कार्यकर्तालाई आग्रह गर्नुभयो।

प्रतिक्रिया दिनुहोस्