पूर्वराष्ट्रपति मुबारक कारागर मुक्त



कायरो, (एजेन्सी)

इजिप्टका पूर्वराष्ट्रपति होस्नी मुबारकले कैदीका रूपमा करिब छ वर्ष सैनिक अस्पतालको बसाइपछि शुक्रबार घर फर्किएका छन्।
इजिप्टका पूर्वशासक मुबारकलाई सन् २०११ को अरब आन्दोलनद्वारा पदच्युत गरिएपछि अधिकांश समय उनले सैनिक अस्पतालमा बिताएका थिए।

लगातार करिब तीन दशक इजिप्टको सत्ता सम्हालेका ८८ वर्षीय मुबारक सत्ताच्युत हुनु पहिले एक शक्तिशाली तानाशाहका रूपमा परिचित थिए। अरब जगतमा अचानक उर्लेको राजनीतिक परिवर्तनको आन्दोलनले उनलाई सत्ताच्युत गराउला भन्ने कुरा शुरूमा पूर्णतः अकल्पनीय विषय रहेको थियो।

मुबारकलाई सन् २०११ को आन्दोलनताका परिवर्तनका बाहकका रूपमा देखिएका ठूलो संख्यामा इजिप्टका जनतामाथि क्रुर दमन गर्ने नाममा सयौं मानिसको हत्या गरेको आरोपमा कारावास सजाय दिइएको थियो।

तर यसै महिनाको पूर्वाद्धमा इजिप्टको उच्च अदालतले उनको मुद्दामाथि अन्तिम सुनुवाइ गर्दै उनलाई निर्दोष ठहर गरेपछि उनी जेलमुक्त भएका हुन्।

मुबारकका वकिल फरिद अल दिवलले उनी कारगार मुक्त भएको एएफपीसमक्ष पुष्टि गरेका छन्। अब उनी राजधानी कायरो नजिकको हेलियोपोलिस जिल्लास्थित आफ्नै घरमा बस्ने फरिदले बताएका छन्।

सन् २०११ मा भएको १८ दिन लामो राष्ट्रिय विद्रोहमा मुबारकको निर्देशनमा प्रहरीद्वारा आन्दोलनकारीमाथि भएको दमनमा ८ सय ५० जना सर्वसाधारण नागरिकको मृत्यु भएको थियो।सन् २०१२ मा आजीवन काराबासको सजाय सुनाइएका उनले दुई वर्षपछि सोे मुद्दामाथि पुनरावेदन हुँदो सफाइ पाएका थिए।

प्रतिक्रिया दिनुहोस्