गोरखाका राजनीतिक दल गाउँ पस्न थाले



नेपाल समाचारपत्र
गोरखा

स्थानीय निकायको निर्वाचनको मिति नजिकिँदै गर्दा यहाँका विभन्नि राजनीतिक दलका नेता कार्यकर्ता गाउँ पस्ने अभियानमा लागेका छन्। मतदातालाई आफ्नो पकडमा राख्न, छलफल, अन्तरक्रियाका कार्यक्रमलाई अगाडि बढाएका छन्।

विशेष गरी जिल्लाको दुई नगरपालिका र नौ गाउँपालिकामा नेपाली कांग्रेस, नेकपा एमाले, नेकपा माओवादी केन्द्र गाउँ पस्ने अभियानमा लागेका हुन्। नेतादेखि कार्यकर्तासम्मका व्यक्ति आ–आफ्ना पार्टी नेतृत्व गर्ने दाबी गर्दै गाउँ पसेका छन्। लामो समयदेखि स्थानीय निर्वाचन नभएकाले कार्यकर्ताले उम्मेदवार बन्ने अपेक्षा देखाउँदै स्थानीय निकायको निर्वाचनको तयारी थालेका हुन्। मतदातामा आफ्नो प्रतिनिधि चयन गर्न आतुर भएको देखियो त्यसैले निर्वाचनका लागि राम्रो वातावरण बन्दै गएको नेपाली कांग्रेसका जिल्ला सभापति हरिबहादुर घले बताउँछन्।

एकातर्फ निर्वाचन लामो समयपछि हुनु, अर्कोतर्फ संविधानसभाद्वारा निर्मित संविधानले जनता र जनताका प्रतिनिधिलाई असीमित अधिकार दिएकाले गाउँपालिकाको प्रमुख, उपप्रमुख, सदस्य, नगरपालिकाको प्रमुख, उपप्रमुख, वडा अध्यक्ष, सदस्य, महिला, दलित, प्रतिनिधि बन्नका लागि आ–आफ्नो पार्टीमा टिकटका लागि लबिङ गर्नेहरू पनि उत्तिकै रहेका छन्।

नेकपा माओवादी केन्द्रका जिल्ला अध्यक्ष लेखबहादुर थापाका अनुसार उसले जिल्लाको केही गाउँपालिकाको वडाहरूमा बाहेक अन्य सबैमा कार्यविभाजन गरी गाउँगाउँका कार्यक्रम तथा निर्वाचनको तयारी थालेको छ। यसै क्रममा केही नेता, कार्यकर्ता आफू र आफ्नो पार्टीले अहिलेसम्म गरेका काम र संविधान निर्माणका क्रममा आफ्नो पार्टीले खेलेको भूमिकाका विषयमा बुझाउन जनताको घरदैलोमा पुगेका छन् भने केही नेता सदरमुकाममा नै बसेर चिया गफमा आफ्नो राजनैतिक विवरण बताउँदै आफूले नै टिकट पाउनुपर्ने दाबी गर्नेहरू पनि उत्तिकै छन्।

त्यस्तै नेकपा एमालेले पनि जिल्लाको दुई नगरपालिका र नौ गाउँपालिकामा कार्यक्रम गरिरहेको छ। कुन गाउँपालिका, नगरमा को प्रमुख, उपप्रमुख तथा वडा सदस्यको उम्मेदवार को हुने भनेर पार्टीको आधिकारिक जिल्ला कार्यसमितिको बैठकबाट निर्णय जिम्मा जिल्ला कमिटीले पाउने भएपछि एमालेको पार्टी कार्यालयमा उम्मेदवार बन्न आफू योग्य रहेको भन्दै टिकट माग्न आउनेहरूको भीड रहेको एमाले स्रोतले बतायो।

कांग्रेसले गाउँपालिका भइसकेपछि गाउँपालिकाअन्तर्गतका पार्टीका क्षेत्रीय प्रतिनिधिको भेला आयोजना गरी चुनावको तयारी थालेको छ। कांग्रेसले जिम्मेवार पदाधिकारीसहित, महासमिति सदस्य, महाधिवेशन प्रतिनिधि गाउँकेन्द्रित हुने गरी कार्यक्रम गरिरहेको छ। एमालेका जिल्ला उपाध्यक्ष यादव बस्नेतका अनुसार एमालेले पनि नगर र गाउँपालिकामा एमालेको नेतृत्व केका लागि भन्ने विषयमा जनतालाई बुझाउँदै कार्यक्रमहरू गरिरहेको बताएका छन्। अन्य दलले पनि स्थानीय निकायको निर्वाचनको तयारी गरिरहेको बताएका छन्।

प्रतिक्रिया दिनुहोस्