नृत्य शिरोमणि थापा सम्मानित



नेपालका प्रथम नृत्य निर्देशक एवं अग्रज नृत्य शिरोमणि भैरवबहादुर थापालाई बृहत् रूपमा सम्मान गरिएको छ। नृत्य निर्देशक संघ नेपालले राजधानीको जमलस्थित राष्ट्रिय नाचघरमा एक समारोहको आयोजना गरी उनलाई कला क्षेत्रमा विशिष्ट योगदान पुर्याएबापत सम्मान गरेको हो।
सो अवसरमा संघका अध्यक्ष भुवन श्रेष्ठले दोसल्ल ओढाएर र संस्कृतिविद् एवं शताब्दी पुरुष सत्यमोहन जोशीले सम्मानपत्र प्रदान गरी उनलाई सम्मान गरेका थिए। त्यसै गरी सांस्कृतिक संस्थानका महाप्रबन्धक राजेश थापाले उनलाई २५ हजार १ सय रुपियाँप्रदान गरे।

समारोहमा नृत्य निर्देशक थापाले कलाकार क्षेत्रको उत्थानका लागि कलाकाहरु नै संगठित हुनुपर्ने खाँचो औंल्याए। थापालाई सम्मान गर्नु राष्ट्रकै सम्मान भएको संघका अध्यक्ष भुवन श्रेष्ठले चर्चा गरे। नृत्य क्षेत्रमा उनले पुर्याएको योगदानको कदर गर्दै समारोहमा नृत्य निर्देशकहरुले नृत्य प्रस्तुत गरेका थिए। कार्यक्रम संयोजक एवं संघका उपाध्यक्ष सञ्जय शर्माले नृत्य निर्देशकहरुको साझा र प्रतिनिधिमूलक संगठनका रुपमा स्थापित संघले आफ्नो पहिलो कार्यक्रमको शुरुआत सम्मानबाट गरेको जानकारी गराए। संयोजक शर्माले कलाकारलाई राज्यले उचित सम्मानको साथमा संरक्षणसमेत प्रदान गर्नुपर्ने आवाज स्वरुप सम्मान कार्यक्रम गरिएको बताए। सम्मानसँगै नेपालको शास्त्रीय चर्या नृत्य, लोकनृत्य, भारतको कथक, भरतनाट्यमको साथै पाश्चात्य हिपहप, बिबोइङ, कन्टेम्पररी, साल्साजस्ता नृत्यहरु प्रस्तुत गरिएको थियो।

थापाले २०१८ सालमा लोकसेवा आयोगबाट परीक्षा उत्तीर्ण गरी सांस्कृतिक संस्थानमा नृत्य निर्देशक पदमा रही सेवा गर्न शुरु गरेका थिए। संस्थानबाट अवकाश लिएपछि भैरव नृत्य दल खोली नृत्यनिर्देशनको कामलाई निरन्तरता दिएका थिए। उनीसँग नृत्य प्रशिक्षण लिएका सयौं कलाकार नेपाली कला क्षेत्रमा स्थापित छन्। ८४ वर्षको उमेरमा पनि थापा नृत्यको अन्तर्राष्ट्रिय भाषाको रुपमा नृत्याक्षर लिपि विज्ञान अर्थात् नृत्यको नोटेसन विकास गर्ने कार्यमा क्रियाशील छन्।

थापाको नृत्यसम्बन्धी विभिन्न पुस्तकहरु कक्षा ६, ७ र ८ मा पाठ्यक्रममा अहिले पनि पढाइन्छ। थापाको नृत्याक्षर लिपि विज्ञान, नेपालका लोक नृत्यहरु, भैरवको फूलबारी नामक तीन पुस्तक प्रकाशनको तयारीमा रहेको छ। कलाकार थापाले २००७ पुस ८ गतेदेखि २०१० असार १ गतेसम्म फ्रस्ट सिक्स ब्रिटिस गोर्खा राइफलको क्लर्क पोस्टमा सिंगापुर र मलायामा काम गरेका थिए। संस्कृति विभागअन्तर्गतको राष्ट्रिय नाचघरमा पहिलोपटक सांस्कृतिक कार्यक्रम पनि कलाकार थापाले प्रस्तुत गरेका थिए। उनले त्रिचन्द्र कलेजका विद्यार्थी, नेपाली सेना, नेपाल प्रहरीका अधिकृतलगायत सयौंलाई नृत्य प्रशिक्षण दिइसकेका छन्।

प्रतिक्रिया दिनुहोस्