बेनीको हाटबजार गोठ बन्यो



प्रताप बानियाँ, म्याग्दी

कृषि उत्पादनको बजार व्यवस्थापन र उपभोक्तालाई सहुलियतमा कृषि उपजको बिक्री वितरण गर्ने उद्धेश्यले स्थापित म्याग्दीको सदरमुकाम बेनीबजारस्थित बहुउद्धेश्यीय खेलमैदानमा सञ्चालित कृषि हाटबजार पछिल्लो समय अव्यवस्थित बन्दै जाँदा हिजोआज भैंसी बाँध्ने गोठमा परिणत भएको छ। हरेक शनिबार लाग्ने हाटबजार सुक्दै गएको र यसबारे सरोकारवाला निकायले बेवास्ता गरेपछि सरकारी लगानीमा बनेका भवन र टहरा भैंसी बाँध्ने गोठ बन्न थालेको हो।

जिल्लाको रत्नेचौर, ज्यामरुककोट, तातोपानी, अर्थुङे, गलेश्वरसहित छिमेकी जिल्ला पर्वतको मल्लाज, सालिजा, खोलाखेत र धाईरिङका कृषकको उपजलाई बजार पुर्याउनका निम्ति हाटबजार सञ्चालन गरिएको थियो। तर, हिजोआज हाट सञ्चालन गर्ने टहरामा मासुका लागि ल्याइने भैंसी बाँध्ने गरिएको छ। २०६५ सालदेखि चार चरणमा गरी हाटबजार सञ्चालनका लागि भवन र टहरा बनाउन प्राविधिक सहयोग र लाखौं रुपियाँ लगानी भइसकेको छ। जिल्लाको कृषि, पशु, उद्योगधन्दा आदि क्षेत्रको विकासका लागि भन्दै विभिन्न संघसंस्था क्रियाशील पनि छन्। तर, तिनै कार्यालयको नाकैमुनि सार्वजनिक सम्पत्तिको दुरूपयोग हुँदा सम्बन्धित पक्षको ध्यान जान सकेको छैन।

पछिल्लोपटक २०७० सालदेखि जिल्ला कृषि विकास कार्यालय र म्याग्दी उद्योग वाणिज्य संघको पहलमा प्रत्येक शनिबार बेनीमा हाटबजार शुरू गरिएको थियो। शुरू–शुरूमा पर्वतको मल्लाज, धाईरिङलगायत म्याग्दीको ज्यामरुककोटलगायतका कृषकले सोझै आफ्नो उत्पादन हाटमा ल्याउने गरेका थिए। हाट शुरू हुँदाका केही महिना सदरमुकाम बेनीको बहुउद्धेश्यीय मैदानमा निकै भीडभाड हुने गरेको थियो। तर, अहिले त्यहाँ भुजा, सस्ता मूल्यका कपडा, चप्पल र एक दुई कृषकले मात्रै आलु र तरकारी बेच्ने गरेका छन्।

हाटबजार स्थल वरपर फोहोर हुँदै गएको र नजिकै रहेको पशु बधस्थल हटाउनुपर्ने कृषि उपज संकलन केन्द्रले जनाएको छ। टहरामा भैंसी बाँध्ने, बजारको ढल, ढुंगा, माटो ल्याएर फाल्ने गरेको हुँदा यस्तो कार्यलाई सम्बन्धित निकायले तुरुन्तै निरुत्साहित गर्नुपर्ने कृषि उपज बजार सञ्चालक समितिका अध्यक्ष चन्द्रबहादुर घिमिरेले बताउनुभयो। व्यवस्थित हाटबजार सञ्चालनका लागि शनिबार पूर्णरूपमा पसल बन्द गरी आवश्यक प्रचारप्रसारसहित कृषकलाई हाटबजारसम्म आउने वातावरण सिर्जना गर्नुपर्ने उहाँले बताउनुभयो।

हाटबजारलाई व्यवस्थित गर्न सञ्चालक समिति र कृषकसँग आवश्यक पहल भइरहेको वरिष्ठ कृषि विकास अधिकृत श्यामप्रसाद रिजालले बताउनुभयो। उक्त हाट बजार निर्माणका लागि ३० लाख रुपियाँ लगानी भइसेको छ। जसमा जिल्ला कृषि विकास कार्यालयले मात्रै प्राविधिक सहयोगबाहेक १९ लाख, जिविस ले १ लाख ५० हजार, डीसीआरडीसी, डिमेगा, सहमति र प्लान नेपाललगायतका संस्थाले दुई–दुई लाखका दरले लगानी गरेका छन्।

प्रतिक्रिया दिनुहोस्