फेवा नववर्ष महोत्सव हँदै



नेपाल समाचारपत्र
पोखरा

फेवाताल संरक्षण गर्न पश्चिमाञ्चल होटल संघले वर्षेनी नयाँ वर्षमा फेवा नववर्ष महोत्सव गर्दै आएको छ। १४औं संस्करणलाई पनि फेवा संरक्षण गर्ने लक्ष्य र उद्देश्य राख्दै चैत २९ देखि वैशाख २ गतेसम्म महोत्सव गर्ने संघले जनाएको छ।

तालको संरक्षण गर्दै आन्तरिक तथा बाह्य पर्यटन प्रवद्र्धन गर्ने उद्धेश्य महोत्सवले लिएको संघका अध्यक्ष एवम् महोत्सव संयोजक विकल तुलाचनले शुक्रबार आयोजित पत्रकार सम्मेलनमा जानकारी दिएको छ।

पोखरा लेखनाथ महानगरपालिका बैदामस्थित कोमागाने पार्कमा सञ्चालन हुने महोत्सवमा आन्तरिक तथा बाह्य पाहुनालाई लक्षित गरी संघले विभिन्न कार्यक्रमहरूको आयोजना गर्ने छ। महोत्सव ४० हजार आन्तरिक तथा बाह्य पर्यटकले अवलोकन गर्ने अपेक्षा गरिएको उहाँले बताउनुभयो।
महोत्सव सम्पन्न गर्न ४८ लाख ८ हजार रुपियाँ खर्च लाग्ने अनुमान गरिएको छ। महोत्सवबाट बचत भएको रकम वातावरण संरक्षणको क्षेत्रमा खर्च गरिने तुलचानले जानकारी दिनुभयो। महोत्सवमा आउने पाहुनालाई होटल र खानामा प्रदान गरिने छुटको घोषणा छिटै गरिने उहाँले बताउनुभयो। भारतीय बजारमा पोखरालाई प्रचार गर्न ‘चलिए पोखरा’ अभियान पनि तीन महिना पछि शुरू गरिने संघले जनाएको छ।
संघका निवर्तमान अध्यक्ष भरतराज पराजुलीले फेवा तालको संरक्षणका लागि संघले लामो समयदेखि काम गर्दै आएको जानकारी दिनुभयो। दुई वटा डुंगा व्यवस्था गरेर र डब्लुडब्लुएफसँग मिलेर वातावरण संरक्षणको काम समेत गरेको उहाँले बताउनुभयो।
पाँच तारे होटलदेखि पोखरा क्षेत्रका गाउँघरमा पाइने खानाका परिकार एकै थलोमा प्रदर्शन, प्रत्येक दिन विभिन्न स्थलबाट ल्याइएका साँस्कृतिक कार्यक्रमको प्रस्तुती, लोक दोहोरी, पप कन्सर्ट, बाल उद्यान, हांस्यव्यंग्यका कार्यक्रम पनि महोत्सवले समेट्ने छ। पर्यटन, संस्कृति र खाना फेवा महोत्सवका मुख्य आकर्षण रहने छन्।

प्रतिक्रिया दिनुहोस्