साताभर पौने छ अर्बको कारोबार



नेपाल समाचारपत्र
काठमाडौं

लगातार ओरालो लाग्दै गएको शेयर बजार हिजोआज भने सुधार देखिएको छ। राजनीतिक वातावरण र तरलताको समस्या विस्तारै किनारा लाग्न थालेपछि शेयर बजारमा पनि सुधारको संकेत देखिन थालेको हो।

शेयर बजारमा सुधार हुने क्रमसँगै यस साता नेप्से परिसूचक १०३ दशमलब ८५ अंकले साताको अन्तिम दिनको कारोबार बन्द हुँदा १४८६ दशमलब शून्य ४ अंकमा पुगेको छ। कुल १५५ कम्पनीको १ करोड ८ लाख ३३ हजार ८० कित्ता शेयर ४१ हजार ३ सय ६३ किनबेच हँुदा ५ अर्ब ७७ करोड ७५ लाख ८२ हजार रुपियाँको कारोबार भएको छ।

यस सातामा बीमा समूह ५९६ दशमलब २ अंक, विकास बैंक समूह १६५ दशमलब शून्य १ अंक, जलविद्युत् समूह १३५ दशमलब ८८ अंक, होटल समूह १०४ दशमलब ६१, बैकिङ समूह ९९ दशमलब २३ अंक, वित्त समूह ४२ दशमलब १ अंकले वृद्धि भएको छ। तर, उत्पादन समूह भने २ दशमलब ११ अंकले गिरावट आएको छ।

साताभर नेसनल लाइफ इन्स्योरेन्सको ३२ करोड ५५ लाख ६० हजार रुपियाँ कारोबार रकमका आधारमा तथा कारोबार भएको शेयर संख्याको आधारमा नेसनल हाइड्रोपावर (८ लाख ४९ हजार कित्ता) र १८९२ पटक कारोबार गर्दै नेपाल बंगलादेश बैंक कारोबार संंख्याका आधारमा अग्रस्थानमा रहेका छन्। यस साता एनआईबीएल प्रगति फन्डको ७ करोड ५० लाख इकाई नेप्सेमा सूचीकृत भएको नेपाल स्कट एक्सचेन्जले जनाएको छ। साताको पाँचै दिन खुल्ला रहेको नेपाल स्टक एक्सचेन्जमा ‘क’ वर्गका कम्पनीहरूको कारोबार मापन गर्ने सेन्सेटिभ इन्डेक्स पहिलो दिनको तुलनामा २२ दशमलब ८८ अंकले बढेर ३२३ दशमलब २६ अंकमा पुगेको छ।

यसैबीच नेपाल धितोपत्र बोर्डले नेपाल हाइड्रोलाई अनुमति दिएको छ। बोर्डले कम्पनीलाई सय रुपियाँ अंकित मूल्यको ३ लाख ९० हजार कित्ता शेयर निष्कासनको अनुमति दिएको हो। शेयर निष्कासनको लागि बिक्री प्रबन्धक एनएमबि क्यापिटल रहेको छ। कम्पनीले दोलखाको चर्नावती खोलामा ३ दशमलब पाँच मेगावाटको आयोजना निर्माण गरेको छ।

आयोजना प्रभावित स्थानीयबासीका लागि कम्पनीले यसअघि १० प्रतिशत शेयर निष्कासन गरिसकेको छ।

प्रतिक्रिया दिनुहोस्