जिप खस्दा ६ को मृत्यु, मृतक सबै ललितपुरका



नेपाल समाचारपत्र

प्युठान

राजधानीबाट प्युठानको स्वर्गद्वारीमा दर्शनका लागि गएका तीर्थयात्री चढेको जिप दुर्घटनाग्रस्त हुँदा ६ जनाको मृत्यु भएको छ। मृतक सबै ललितपुर जिल्लाका रहेका छन्।

भिङ्ग्री–६ रुमाले भन्ने स्थानमा सो जिप दुर्घटना भएको हो। चालकसहित ९ जना सवार बा८च १५६१ नम्बरको जिप शुक्रबार सडकबाट करीब २ सय ५० मिटर तल खसेर दुर्घटना हुँदा १ पुरुष र ५ महिलासहित ६ जनाको घटनास्थलमै मृत्यु भएको हो।

दुर्घटनाका ३ जना घाइतेलाई उपचारका लागि प्राथमिक स्वास्थ्य केन्द्र भिङ्ग्र्री लगिएकामा पछि बुटवल रिफर गरिएको छ।

मृत्यु हुनेहरूमा ललितपुर महानगरपालिका–१४ तिसेदेवलका दिनेश बस्नेत तथा उनका छोरीहरू दीक्षा, पद्मा र दिया छन्।

त्यस्तै सोही ठाउँका सुनिता श्रेष्ठ र सृष्टि खत्रीको पनि घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय प्युठानले जानकारी दिएको छ। दुर्घटनामा घाइते हुनेहरूमा सवारी चालक सरोज घले, सुशीला बराल र अमृता गजुरेल छन्।

प्रतिक्रिया दिनुहोस्