नेपालका सुमितले ग्रान्डमास्टरलाई हराए



नेपाल समाचारपत्र
काठमाडौं
पाली चेसका उदयीमान खेलाडी सुमित पन्तले राजधानीमा जारी एसियन जोनल ३.२ चेस प्रतियोगितामा सानदार प्रदर्शन जारी राखेका छन् ।

पहिलो चरणमा आइएम अबु सफीयन सकिललाई हराउदै उत्कृष्ट सुरुवात गरेका १९३५ रेटेड पन्तले पाँचौ चरणमा ग्रान्डमास्टर २४७४ रेटेड एमानुएल हुसेनलाई पराजित गरे । पन्तको साढे तीन अंक रहेको छ । नेपाल बुद्धीचाल संघ र नेकोस चेस एकेडेमी क्लबको संयुक्त आयोजनामा जारी प्रतियोगितामा बंगलादेशी ग्रान्डमास्टर नियाज मुर्साद र अब्दुल्ला अल रकिब चार अंक सहित शिर्ष स्थानमा रहेका छन् ।

मुर्सदले पाचौ चरणमा शिर्ष बरियताका बंगलादेशी ग्रान्डमास्टर जीआउर रहमानलाई पराजित गरे । जिआउर सहित सुमित ,केशब श्रेष्ठ र बंगलादेशी फीडे मास्टर सहमान सायद मुजफुरको साढे तीन अंक छ । नेपालका पूर्व राष्ट्रिय च्याम्पियन २०७७ रेटेड केशबले पाचौ चरणमा बंगलादेशका अन्तराष्ट्रिय मास्टर २३४३ रेटेड अबु सफीयन सकिलसंग बराबरी गरे । बंगलादेशकै फीडे मास्टर हसन मेहन्दीको पनि साढे तीन अंक छ । २२६३ रेटेड हसनले पाचौ चरणमा १८४८ रेटेड भगवती प्रसाद शर्मालाई हराए । पाचौ चरणमा बराबरी गरेका फीडे मास्टर रहमान मोहम्मद तैबुर र हिमाल लामा ३ अंक छ । यसैगरी, श्रीलंकाका कालुगम्पीटीया आरएस,मदनकृष्ण कायस्थ र क्षितिज भण्डारीको ३ अंक छ । आरएसले सुमन राइ, मदनले आशिष फुयाँल तथा क्षितिजले मिलन लामालाई पराजित गरे ।

महिला तर्फ बंगलादेशी डब्लुआइएम हमिद रानी लागातार पाचौ जित हात पार्न सफल भएकी छिन् । १९९० रेटेड हमिदले पाचौ चरणमा बंगलादेशकै डब्लुएफएम १९०४ रेटेड नजराना खान माथि जित हात पारिन् । डब्लुआइएम २०७७ रेटेड समिमा अख्तर चार अंक सहित दोश्रो स्थानमा छिन् । पाचौ चरणमा उनले बंगलादेशकै डब्लुएफ १९९८ रेटेड सुल्ताना सरिन सिरिन माथि जित हात पारिन् । श्रंीलंकाकी साउमी जैनेब र बंगलादेशकी डब्लु सिएम मोहमुदा हक चौधरीको साथमा अर्की बंगलादेशी खेलाडी सरमिन समिहा सिमीमीको तीन अंक छ । पाचौ चरणमा जैनेबले शान्ता थापा तथा चौधरीले मतीना कुसीलाई पराजित गरेका हुन् । यसैगरी, समिमीले सिन्दिरा जोशीलाई पराजित गरिन् । सबिना श्रेष्ठले पुनम प्रसाइलाई हराइन् ।

प्रतिक्रिया दिनुहोस्