तातोपानी नाका खुलाऊ



प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ बीआओ फोरमको सम्मेलनमा भाग लिन हिजो राति चीन प्रस्थान गर्नुभएको छ। प्रधानमन्त्रीको यस भ्रमणमा चीनसँग कुनै पनि सम्झौता नहुने बताइएको छ। तर दुई वर्षदेखि बन्द रहेको तातोपानी नाका खुलाउनका लागि भने उहाँले ठोस पहल गर्नुपर्ने देखिन्छ। भूकम्पपछि बन्द रहेको तातोपानी नाका दुई वर्षसम्म पनि नखुल्दा हजारौंको रोजीरोटी खोसिएको छ।

नाकामा भारी खेपेर जीविका गर्दै आएका सयौं स्थानीयवासी नाका खुल्ने आशमा अहिलेसम्म अलपत्र परेका छन्। साथै सो नाका भएर नेपाल भित्रिने सामग्री लामो बाटो भएर भित्रिँदा उपभोक्ता महँगो मूल्य तिर्न बाध्य भएका छन्। त्यसैले पनि प्रधानमन्त्री प्रचण्डले भ्रमणका क्रममा तातोपानी नाका खुलाउने प्रयास गर्नै पर्छ।

भूकम्पपछि कष्टकर जीवन चलाउँदै आएका तातोपानी क्षेत्रका स्थानीय बासिन्दाहरू नाका बन्द हुँदा बिहान–बेलुका हात–मुख जोड्न समस्या परेको बताउँछन्। नाका बन्द भएदेखि नै सीमावासीले कामको मेसोसमेत समाउन सकेका छैनन्। झोला र पोकामा व्यापार गरी जीवनयापन गर्दै आएकाहरूलाई यति बेला परिवार पाल्न धौ–धौ छ। नाकाको व्यापार र मजदुरी यस क्षेत्रका स्थानीयका लागि जीविकोपार्जनको एकमात्र आधार हो। सीमाक्षेत्रमा जीविकोपार्जनका लागि अर्को विकल्प छैन। यति बेला पुनर्निर्माणभन्दा पनि जीविकोपार्जनको आधार खोजिरहेका छन् उनीहरू।

नाका सञ्चालनका लागि नेपालतर्फ कुनै समस्या नभएको तातोपानी भन्सार प्रमुख दिव्यराज पोखरेलको भनाइ रहेको समाचार प्रकाशमा आएको छ। भूकम्पले क्षति पुर्याएका सडक संरचना बनिसकेका छन्। सरकारले तातोपानी नाका खोल्नका लागि कूटनीतिक पहल गर्नुपर्ने उहाँको भनाइ छ। सीमाक्षेत्रमा तिब्बती गतिविधि बढेको भनेर चीनले नाका बन्द गरेको चर्चा पनि छ। तर नेपाल सरकारका तर्फबाट त्यस्ता गतिविधि भइरहेका छैनन् भन्ने कुरा प्रस्टरूपमा राख्न नसक्दा नाका खुल्नमा ढिलाइ भइरहेको हो। प्रधानमन्त्री प्रचण्डले चीनका राष्ट्रपति सी जिनपिङसँग समेत भेटघाट गर्ने कार्यक्रम भएकाले उहाँले तातोपानी नाका खुलाउँदा दुवै मुलुकलाई कुनै अप्ठ्यारो नपर्ने कुरा विश्वास दिलाएर सो नाका खुलाउने प्रयास गर्नै पर्छ।

प्रतिक्रिया दिनुहोस्