पाकिस्तान रिपब्लिक डे राष्ट्रपति ममनुनद्वारा भारतसमक्ष वार्ताको प्रस्ताव



इस्लामावाद, (एजेन्सी)
पाकिस्तानका राष्ट्रपति ममनुन हुसेनले भारतलाई आपसी विवादको शान्तिपूर्ण समाधानका लागि वार्तामा बस्न प्रस्ताव गरेका छन्।

पाकिस्तानको गणतन्त्र दिवसका अवसरमा राजधानी इस्लामाबादमा आयोजित वार्षिक सैनिक परेड कार्यक्रमलाई सम्बोधन गर्दै राष्ट्रपति हुसेनले काश्मीरसहित सबै विवादमा वार्ताको माध्यमबाट समाधान खोज्न आह्वान गरेका हुन्।

परेडमा चीनको जनमुक्ती सेना र साउदी अरेबियाका सेनालगायत टर्कीको सैन्य ब्यान्ड ‘मेहर’को पनि सहभागिता रहेको थियो। रिपब्लिक डे परेडमा पाकिस्तानले आफ्ना आणविक क्षमताका हतियार, ट्यांक, जेट र अन्य हतियार प्रदर्शन गरेका थिए। एफ–१६, एफ–१७ थन्डर्स, अवाक्स, पी३–सी ओरियन र एफ–७ युद्ध विमानले युद्ध कौसल प्रदर्शन गरेका थिए। राष्ट्रपति ममनुनले यसअघि चीनको सेनाले कहिल्यै पनि अर्को देशका कुनै पनि कार्यक्रममा भाग नलिएको बताए।

उनले गैरजिम्मेबार व्यवहार, हिंसात्मक गतिविधिले सुरक्षा चुनौती बढ्दै गइरहको पनि बताए। राष्ट्रपतिले भारतमाथि युद्धविराम उल्लंघनको पनि आरोप लगाए। उनले भने–भारतले काश्मीरको विवादित हिमाली क्षेत्रमा युद्धविराम उल्लंघन गरेर शान्तिलाई खतरामा पुर्याएको छ जुन दुबै देशमा विभाजित छ र २ वटा युद्धको कारण पनि बनेको छ।

यसअघि सन् २००३ मा यी दुई देशबीच युद्धविराम भएको थियो। ‘संयुक्त राष्ट्रसंघको प्रस्तावलाई लिएर वार्तामार्फत् काश्मीर समस्याको समाधान गर्न पाकिस्तान भारतसँग वार्तामा बस्न तयार छ।’ –हुसेनले बताए।‘काश्मीरका जनताले स्वविवेकीय निर्णय गर्न पाउने अधिकारको हामी नैतिक, राजनीतिक र कूटनीतिक हिसाबले सहयोग गर्न सधैं तयार छाँै’ –उनले थपे।

भारत बेलायती उपनिवेशबाट मुक्त भएको बेला सन् १९४७ देखि अहिलेसम्म भारत र पाकिस्तानकाबीचमा तीनवटा युद्ध भएका छन्। तीमध्ये दुई ओटा युद्ध काश्मीर मुद्दासँग सम्बन्धित छ।

भारत र पाकिस्तानकाबीचमा शान्तिपूर्ण वार्ता गराउनका लागि अन्तर्राष्ट्रिय समुदायले भूमिका खेल्नुपर्नेमा पनि जोड उनले जोड दिए। उनले भने– ‘पाकिस्तानले कुनै पनि देशविरुद्ध कुनै प्रकारको आक्रामक नीति लिएको छैन तर क्षेत्रीय शान्ति र स्थायित्वका लागि केही कदम अवश्य उठाएको छ। राष्ट्रपति हुसेनले पाकिस्तानले आफूलाई पहिलाभन्दा अहिले सुरक्षित ठानेको पनि बताउनुभयो।

प्रतिक्रिया दिनुहोस्