नेप्से पुरानै लयमा धितोपत्र बोर्ड र स्टक एक्सचेन्जको चेपुवामा ब्रोकर



नेपाल समाचारपत्र
काठमाडौं
चैत महिना लागेसँगै पुँजी बजारका लगानीकर्तालाई उत्साहित बनाउँदै आएको छ। लगातार ओरालो लाग्दै गएको पुँजी बजार चैत लागेसँगै सुधार हुँदा अहिले तीन महिना अघिको स्थितिमा पुगेको छ। साताको अन्तिम दिन बिहीबार नेप्से परिसूचक ४ दशमलब ९६ अंकले वृद्धि हुँदै १४८६ दशमलब शून्य ४ अंकमा पुगेको छ। नेप्से गत पुस १८ गते १४८२ दशमलब ८५ अंकमा रहेको थियो। चैत १ गते १३४७ दशमलब शून्य ९ अंकमा रहेको शेयर बजार त्यसपछि लगातर बढिरहेको छ। यसअवधिमा शेयर बजार १३८ दशमलब ९५ अंकले बढेको छ।

बिहीबार १ सय ४३ कम्पनीको करिब एक अर्ब रुपियाँमा खरिद बिक्री भएको छ। जलविद्युत् समूह ४६ दशमलव ९८ अंक, बीमा समूह ७ दशमलब ७७, बैंकिङ समूह ७ दशमलब ६ अंक, फाइनान्स ५ दशमलव ४२ अंक, विकास बैंक समूह ४ दशमलव ४१ र उत्पादन समूह ३ अंकले बढेको छ। तर, होटल १३ दशमलब ५६ र अन्य समूह ५ दशमलब ५ अंकले ओरालो लागेको छ।

धेरै कमाउने कम्पनीहरूमा जलविद्युत् कम्पनीहरू अगाडि देखिएका छन्। यस दिन रिडी, अपि र नेसनल हाइड्रो र मिथिला लघुवित्त कम्पनीका लगानीकर्ताले धेरै कमाउँदा सिन्धु विकास बैंक, रिलायबल माइक्रो, मिसन डेभलपेमन्टलगायतका कम्पनीका लगानीकर्ता गुमाउनेमा परेका छन्। यस दिन कारोबारका आधारमा सानिमा बैंक अग्रस्थानमा रह्यो। कम्पनीको ५ करोडको कारोबार कायम भएको छ। कम्पनीको ३० प्रतिशत हकप्रदका लागि बुक क्लोजको मिति तय भइसकेकाले सो कम्पनीको कारोबार बढेको हो।

त्यस्तै नेपाल बंगलादेश बैंकको ४ करोड ७४ लाख, नेसनल लाइफ इन्स्योरेन्सको ४ करोड ४९ लाखको कारोबार भइका छ। कारोबार रकमका आधारमा नेसनल हाइड्रो, एनसीसी बैंक पनि अगाडि रहेका छन्। उता ब्रोकरहरूले शाखा सञ्चालन गर्ने विषयमा नेपाल स्टक एक्सचेन्ज र नेपाल धितोपत्र बोर्डको चेपुवामा ब्रोकरहरू परेका छन्। स्टक एक्सचेन्जले तत्काल शाखा सञ्चालन गर्न दबाब दिँदै कारबाही गर्ने चेतावनी दिएको छ भने बोर्डले शाखा सञ्चालन गर्न दबाब दिँदै आएको छ। स्टक एक्सचेन्ज र धितोपत्र बोर्डको लडाईमा ब्रोकरहरू चेपुवामा पर्दा आफूहरू अन्योलमा परेको व्यवसायीहरूको गुनासो छ।

प्रतिक्रिया दिनुहोस्