अनिलबिनाको नेपाली टोली



फिरोज राजोपाध्याय
नेपाली राष्ट्रिय फुटबल टोलीले आगामी चैत्र १५ गते मनिलामा एएफसी एसियन कप २०१९ छनोट प्रतियोगिताअन्तर्गत घरेलु टोली फिलिपिन्ससँग खेल्दै छ।

समूह ‘डी’ मा रहेको नेपालको यो पहिलो खेल हुनेछ। रिजाल मेमोरियल रंगशालामा जितकै लागि नेपालले खेल्ने कप्तान विराज महर्जनले बताएका छन्।

तर, अघिल्ला रेकर्डको पाना पल्टाउने हो भने नेपाल फिलिपिन्सको अगाडि खासै जम्न सकेको छैन। नेपालले फिलिपिन्ससँग सन् २०११ मा खेलिएको मैत्री खेलमा ४–० गोलको नराम्रो परिणाम बेहोरेको थियो। त्यस्तै यसको ३ वर्षपछि २ खेल खेल्यो त्यसमा पनि नेपाल फिलिपिन्ससँग समान ३–० ले हारेको थियो।

यस पटक नेपाल इतिहास उल्टाउने दाउमा छ। तर, यसका लागि नेपालले धेरै मेहनत गर्नुपर्ने देखिन्छ पनि। किनभने फिफा वरियतामा नेपाल र फिलिपिन्सबीचको स्थान पनि धेरै नै तलमाथि रहेको छ। नेपाल जहाँ १७०औं स्थानमा छ भने फिलिपिन्स १२४औं स्थानमा रहेको छ। यानि झन्डै–झन्डै ५०औं स्थानको फरक देखिएको छ।

नेपालले गतवर्ष मलेसियामा सम्पन्न एएफसी सोलिडारिटी कप प्रतियोगितामा उपाधि जितेपछि सो छनोट प्रतियोगितामा खेल्न पाएको हो। ग्वामले छनोट प्रतियोगितामा खेल्न असमर्थता जनाएपछि नेपालले सोलिडारिटी कप विजेताको हैसियतले छनोट प्रतियोगिता खेल्न मौका पाएको हो।

तर, यस पटक नेपालको तर्फबाट नियमित कप्तान अनिल गुरुङ भने टिममा हुने छैनन्। उनी नेपाली टिमका जापानी प्रशिक्षक ग्योटोकु कोजीले छनौट गरेको अन्तिम २० खेलाडीमा अटेनन्। यसले अनिललाई अखिल नेपाल फुटबल संघ (एन्फा) र प्रशिक्षक मिलेर उपेक्षा गरिएको हो कि भन्ने भान हुन्छ। सम्भवतः नेपाली फुटबल इतिहासमा कप्तानलाई छनौट चरणबाट नै हटाइएको यो नै पहिलो घटना हो। अहिले यो आश्चर्यको विषय पनि बनेको छ।

नियमित कप्तान नै टिममा नपर्नु सायद नेपाली फुटबलका लागि अनौठो छनोट प्रक्रिया होला। प्रारम्भिक चरणमा २७ खेलाडी छनोट गर्दा अनिल थिए। तर, पछि अन्तिम २० खेलाडीको छनोटमा अनिललाई समावेश गरिएन। एन्फाका एक पदाधिकारीलाई अनिलको विषयमा सोद्धा केही बोल्न चाहेनन्। उनले बताए कि– ‘प्रशिक्षकले छान्ने हो भनेर उही पुरानो तयारी प्रतिक्रिया दिएको थिएँ। तर, यसमा एन्फाका पदाधिकारीको पनि बोल्ने अधिकार छ नि⁄ नेपालका राष्ट्रिय टोलीका कप्तान, त्यो पनि पुराना खेलाडीको हकमा। किन निकालिएको भनेर सोध्न सकिन्छ तर सबै कुरा थोपरे ग्योटोक माथि। ग्योटुकीले पनि स्पष्ट गर्न सकिरहेका छैनन् अनिल किन समावेश भएनन् भनेर।’

अनिल फिट छन्
प्रदर्शनको हिसाबमा भन्ने हो भने यस सिजनमा अनिल अब्बल रहेका छन्। उनको नेतृत्वमा रहेको मनाङ–मस्र्याङ्दी क्लबले मोफसलमा तीन उपाधि जितेको छ। खप्तड गोल्डकप, आहा–रारा गोल्डकप र झापा गोल्डकप रहेका छन्। त्यस्तै हेटौंडामा भएको अन्तर्राष्ट्रिय गोल्डकपमा भने मनाङ आर्मीसँग फाइनलमा पराजित भएको थियो। अनिलको प्रदर्शनको मूल्यांकन गर्ने हो भने उनी खप्तड गोल्डकपमा उत्कृष्ट खेलाडी घोषित हुँदै मोटरबाइक पनि प्राप्त गरेका खेलाडी हुन्। उनले सो प्रतियोगिताको सेमिफाइनलमा दुई तथा फाइनलमा एक गोल गरेर खप्तड गोल्डकप क्लबलाई जिताएका थिए।

उमेरको हिसाबमा फ्यालिएको भने पनि अनिल अहिले ३० वर्षमा लागेका छन्। यो उमेर रिटायर्डको पनि होइन। पछिल्ला प्रतियोगिताको नतिजाले उनको फिटनेस अझै दुरुस्त नै देखाउँछ। यसअघि पनि बल्लतल्ल उनी टिममा अटेका थिए। सन् २०१५ मा भारतमा सम्पन्न चौथो साफ च्याम्पियनसिपमा प्याट्रिक असेम्सको नेतृत्वमा रहेको नेपाली टोलीमा उनलाई विराज महर्जनपछि स्थान दिइएको थियो। त्यसपछि गत नोभेम्बरमा सोलिडारिटी कपमा पनि अनिलको सट्टा विराजले कप्तानी सम्हालेका थिए। सो प्रतियोगिताको फाइनल खेलको अन्तिमतिर मात्र अनिललाई खेलाइएको थियो।

अनिलले नेपाली राष्ट्रिय फुटबल टोलीबाट ४९औं क्याप गरिसकेका छन्। उनका लागि ५०औं क्यापको पर्खाइ रहेको छ। अनिलले टिममा नपरेपछि साह्रै नै नरमाइलो लागेको बताएका छन्। उनले नेपाल समाचारपत्रलाई बताए– ‘म त टिममा नपरेपछि स्तब्ध भएँ। मैले थुप्रैपटक राष्ट्रका लागि खेलें तर अहिले दुर्भाग्य नै मान्नुपर्ला। अहिले म ३० वर्षको भएँ, तर मैले संन्यास लिने बेला भने अझै भएको छैन। म १० वर्ष राष्ट्रका लागि खेलेको छु।’

उनले थपे– ‘त्यसो त मलाई नलिने अगाडि सूचित गर्नुपथ्र्यो। त्यो गरिएन केही उपेक्षित भएको महसुस गरें। सायद अर्को पटक मौका पाउनेछ भन्ने विश्वास छ र मैले राष्ट्रिय टोलीबाट ५०औं खेल खेल्ने अवसर मिल्नेछ भन्ने आशामा छु। हेरौं अर्को पटक केही होला ?’

अनिलको करिअर
वि.सं. २०४३ सालमा पोखरामा जन्मेका अनिल गुरुङले इंग्लिस क्लब चेल्सीका लागि ट्रायलसमेत गरिसकेका छन्। ४ महिनाको ट्रायलमा उनको क्षमता र कलाबाट चेल्सी फुटबल क्लब प्रभावित पनि भएको थियो। चेल्सी टिममा नअटे पनि भारतको आई लिग सिलोङ लाजोङ फुटबल क्लबले भने उनको प्रतिभालाई मूल्यांकन गर्दै ३ वर्षका लागि अनुबन्धित गरेको थियो। जुन अनिलको क्लब करियरकै सबैभन्दा सुखद पक्षको रूपमा रहेको छ।

२०६६ सालतिर सिलोङले अनिललाई ६ लाख ३६ हजार नेपाली रुपियाँमा अनुबन्धित गरेको थियो। यसले उनलाई नेपालकै सबैभन्दा बढी आर्जन गर्ने व्यवसायिक खेलाडीको रूपमा स्थापित गराएको थियो। शिलोङका प्रशिक्षक स्टान्ली रोसारियो उनीबाट प्रभावित भएर नै आफ्नो टोलीमा लिएको उनी बताउँछन्। तर, अनिलको सो विदेशी क्लबको करिअर दिगो भने हुन सकेन। त्यतिखेर सिलोङ लाजोङले उनको सम्झौतालाई नवीकरण नगरेपछि अनिलको आई लिगमा जम्ने सपनासमेत तुहिएको थियो।

अनिल निराश हुँदै बताउँछन्– ‘त्यति बेला आई लिगमा जम्ने सपना तुहिनु र अहिले राष्ट्रिय टिममा पर्न नसक्नु दुवैले पीडाबोध गराएको छ। राष्ट्रिय टिमको कप्तानी सम्हालिरहेको अवस्थामा टिममा नपर्दा दुःख लाग्नु स्वाभाविक नै हो।’

अनिल हाल मनाङ–मस्र्याङ्दी क्लबमा आबद्ध छन्। यसअघि उनले सहारा क्लब २०६१ सालमा छाडेर ब्रिगेड ब्वाइज क्लबमा स्थानान्तर हुँदै घरेलु लिगमा आफ्नो कदम जमाएका थिए। ब्रिगेडका लागि ८ गोल गरेका उनी १ वर्षपछि नेपालको चर्चित क्लब थ्री स्टारसँग आबद्ध भए। अनिलले त्यहाँ केवल २४ खेल खेलेर १३ गोल गर्न सफल भए। उनलाई मनाङ–मस्र्याङ्दीले २०६४ सालमा अनुबन्धन गरेको थियो। तर, बीचमा अनिलले न्युरोड टिम (एनआरटी) र सिलोङमा आफ्नो कला जमाए। फेरि २०६८ सालमा उनी मनाङमै फर्किए। जुन यात्रा अहिलेसम्म जारी नै रहेको छ।

प्रतिक्रिया दिनुहोस्