‘ककटेल’ पार्टीहरुको उदय



रामप्रसाद गौतम

हुन त स्थापित पार्टीहरु पनि कुनै न कुनै रुपमा एनजीओ, आईएनजीओबाट सञ्चालित छन् भन्ने सुनिन्छ। सकेसम्म यो हल्ला झुटो होस्। तर सिद्धान्तलाई वादमा परिणत गरेर जनमतको आधारमा पार्टीहरु खोलिने पुरानो परम्परा नियमितरुपमा विचलित हुँदै गएको छ। आजकाल कुनै मुद्दामा आधारित पार्टीहरु, क्षेत्रीयतामा आधारित पार्टीहरु, सेन्टिमेन्ट क्याचरहरु र कुनै–कुनै प्रकारका सेलिब्रेटीहरुले पार्टी खोलिरहेका छन्। बाबुराम भट्टराईको स्टारडममा खोलिएको नयाँ शक्ति पार्टीको पास्नी, सिमन्तोनयन र क्षौरकर्म हुँदा नहुँदै अर्का सेलिब्रेटी रवीन्द्र मिश्रले बीबीसी नेपाली सेवाको मासिक ७ लाख (बजारिया हल्लाअनुसार) तलब आउने जागिर छोडेर नयाँ पार्टी खोल्ने कोशिश गर्दै रहेको खबर देशका नामी मिडिया हाउसले प्रसारण गरिरहेका छन्।

किन खोलिँदै छन् पार्टीहरु ? रहस्यमय छ। यहाँ गाउँको किसानले पार्टी खोल्दैन, आममानिसलाई पार्टी भनेकै थाहा छैन। सयौं पार्टी दर्ता भैसके र सयौं पाइपलाइनमा छन्। नेपालमा एक–एकजना सभासद भएका दर्जनौं पार्टी छन्। के नेपालमा राजनीति प्रइभेट लिमिटेड बन्दै छ वा यिनीहरु कुनै मिसन लिएर प्रायोजितरुपमा अरु कसैको पैसामा खोलिन्छन् ? बुझ्न कठिन छ। कुनै पार्टी धर्मप्रचार गर्न, कुनै पार्टी संघीयतालाई अझ बढी मजबुत बनाउन, कुनै पार्टी चीन वा भारतका गतिविधि बुझ्न खोलिन्छन्। हुन त यो सबै हाम्रो देश कमजोर हुनुको परिणति हो। तर यसरी शहरमा पानपसल वा सैलुन खोलिएझैँ पार्टी खुल्नु राम्रो वा नराम्रो ? एउटा प्रश्न सधैँ जीवित छ।

राप्रपाका विभिन्न सिरिज, मधेसी मोर्चाका विभिन्न सिरिज आफैंमा ककटेल पार्टीहरु हुन् तर तिनीहरुलाई या त पुरानो सत्ताको सुगन्धले एकताबद्ध गरेको छ या क्षेत्रीयताले एकताबद्ध गरेको छ। तर नयाँ शक्ति र अहिले रवीन्द्र मिश्रले खोल्ने भनेका पार्टीमा कुनै प्रकारको नीति, सिद्धान्त, नारा, मुद्दा वा अभियान भेटिँदैन, जसले उनीहरुलाई एउटा वैचारिक दलत्व प्रदान गर्न सकोस्। केवल फोन गरेर, सम्पर्क गरेर टाउका तथा परिधानको आधारमा समूह बनाउने र त्यसलाई राजनीतिक दलको नाम दिने काम अहिले नेपाल र भारतमा चाक्लै देखिएको छ।
केही समयअघि दिल्लीका मुख्य मन्त्रीले बिजुली लाइन काटेको भरमा मुख्यमन्त्री चड्काए भने यो देशमा कमल थापाहरु, बाबुराम र मुमारामहरु तथा रवीन्द्र मिश्रहरु सत्ताको उचाइमा पुग्न के बेर ? पुरानो र ढाँचागत पार्टीहरु, जसले राजनीतिका दर्शनहरु पढेर, वैचारिकरुपमा एकताबद्ध भएर पार्टी खोल्नेले पनि देशको विकासमा मौलिक परिवर्तन ल्याउन सकेका छैनन् भने नयाँ ककटेल पार्टीहरुलाई आलोचना गर्नुपर्ने कुनै कारण छैन। तर मात्र भन्न खोजेको के हो भने, राजनीति भनेको कुनै राम्रो चलचित्र हो, जहाँ मानिस स्टारडमकै कारण झुमिन्छन् भन्ने नसोच्न राम्रो हुन्छ। किनकि राजनीति फरक विषय हो।

राजनीतिको लागि एउटा स्पष्ट वैचारिक धार चाहिन्छ। आज नयाँ शक्ति पार्टीमा ती–ती नेताहरु मात्र वास्तवमा एकताबद्ध छन् जो १० बर्से जनयुद्धमा बाबुरामका सहपाठी थिए। केही बाहिरबाट आउने एकाधहरु तुरुन्तै फर्किएका पनि उदाहरण छन्। एकाध सेलिब्रेटीलाई छोड्ने हो भने सम्पूर्ण बामपन्थी पार्टीका क्याडरहरुले माक्र्स, लेनिन वा माओको फोटो घरमा झुन्ड्याएकै हुन्छन् र पण्डितले गीतासरह माक्र्सवादी दर्शन फलाकिरहेकै हुन्छन्। राप्रपाहरुका घरमा प्रायः राजा–रानीको तस्वीर झुन्डिएको हुन्छ। यसमा एउटा कुलीन राणाहरुको समुह पनि छ, जसले राजाको छेउमा जंगबहादुरलाई झुन्ड्याएको हुन्छ। यो भनेको ‘आइडोलोजिकल एट्याचमेन्ट’ हो। त्यस्तै वैज्ञानिक होस् वा परम्परागत, आइडोलोजी तथा वैचारिक धारले पार्टीको विस्तार हुन्छ। सबैलाई चिनेको भरमा, हात मिलाएको भरमा, चिया–कफी र चटपटे खाए⁄ख्वाएको भरमा पार्टी खोल्न सकिन्छ भन्ने कुरा कति सम्भव वा असम्भव ?

भोलि अमुक–अमुक ककटेलहरु सत्तामा गए भने कुन मोडलबाट देशलाई अगाडि बढाउने हो भन्ने कुनै प्रकारको अनुक्रमणिका बनेका पार्टीहरु छन् कि छैनन् ? बुझ्न यत्ति चाहेको हो। रवीन्द्र र बाबुराम भट्टराई दुवैले गरिबी हटाउन, सुशासन ल्याउन, नाङ्गोको तनमा जडाउरीको जोगाड गर्न र भिखारी पेटमा समेत माडको व्यवस्था गर्न चाहेर नै पार्टी खोल्नुभएको हो तर सम्भव पार्ने कसरी भन्ने मात्र प्रश्न हो।

आज विश्वको प्रत्येक व्यक्ति सी जिंपिङ, ट्रम्प पुटिनदेखि खेतमा गँहु काट्दै गरेको गौंथलीलाल सबैसँग एउटा न एउटा सुविचार छ। प्रत्येकले त्यो विचारलाई दुनियाँको अगाडि प्रस्तुत गरेर नायक बन्न चाहन्छन् ? के सबै विचारहरु व्यवहारमा परिणत हुन्छन् ? शायद हुँदैनन्। एउटा बनिबनाउ विचारधारामा नबाँधिई सोझै अर्को पार्टी खोल्दा कतै समस्या त पर्दैन ? चिन्ता यत्ति हो। हिजोसम्म ट्रम्प कहाँ थिए ? अमेरिकामा घडेरी बेच्थे र दुई–चार खर्ब कमाउँथे तर आज उनी अमेरिकाका राष्ट्रपति हुन्। किनकि उनी रिपब्लिकनहरुको बनिबनाउ विचारधारामा अटाउन सके। डेमोक्रेट वा रिपब्लिक विचारधारामा आबद्ध नभए के उनी अमेरिकाको राष्ट्रपति हुन सम्भव थियो ?

एउटा रेल जतिसुकै आधुनिक भए पनि विनालिक हिँड्न सक्दैन, लिक भनेका यस्तै विचारधारा हुन्। हिन्दुत्व एउटा आइडोलोजी, राजतन्त्र यस्तै थोत्रो नै सही एउटा आइडोलोजी, गणतन्त्र अर्को, संघीयता तथा असंघीयता यस्तै–यस्तै आइडोलोजी वा विचारधारा हुन्। यसबाट मात्र मानिसलाई गोलबद्ध गर्न सजिलो हुन्छ। चिनजानको भरमा मात्र पार्टी खोल्न कठिन हुन्छ कि ?

प्रशंसक, समर्थक र अनुयायी एउटै कुरा होइन। राजनीतिक पार्टीको प्रारम्भ अनुयायीको संख्याले निर्धारण गर्नुपर्दछ, समर्थक र प्रशंसकले पार्टी बन्ने भए भारतका अभिताभ र सलमान उहिल्यै प्रधानमन्त्री बनिसक्थे। तर राजनीतिमा वैचारिक अनुयायी चाहिन्छ, लंगोटी र जय–जयकारका अनुयायीले मात्र हुँदैन। यी सबै कुरामा नयाँ तथा साझा पार्टीहरु खरो उत्रिनेछन् भन्ने आशा सबैको छ। तर सम्भव कति छ भन्ने कुरा पार्टी खोल्नेको जुझारुपनले देखाउँदै जानेछ।

सेलिब्रेटित्वले गर्दा नेपालका लगभग सबै सचेत जनताले रवीन्द्र मिश्रले पार्टी खोल्ने र त्यो पार्टीको नाम साझा पार्टी रहेको थाहा पाए। अरु व्यक्तिले पार्टी खोलेको भए अहिले उनको जति जानकारी दिन थप लाखौं खर्च गर्नुपर्ने थियो। तर दम विचारमा चाहिन्छ, विचारको प्रचारमा होइन भन्ने कुरा विगत, वर्तमान तथा भविष्यका सबै बाबुराम, रवीन्द्रहरुले बुझ्न जरुरी छ।

जतिसुकै फोहोर भए पनि गंगाको पानीलाई जल नै भनिन्छ। घटघट पिउन मिले पनि धाराको पानीलाई पानी नै भनिन्छ। पुराना र स्थापित भनिएका पार्टीहरुले पनि बाबुराम र रवीन्द्रहरुले भन्दा नयाँ र प्रभावकारी विचार दिन सकेका छैनन्। तर उनीहरुको आइडोलोजी समात्ने अनुयायी धेरै भएकाले पुरानालाई काम गर्न सजिलो छ भने नयाँलाई कठिन छ।

प्रतिक्रिया दिनुहोस्