प्रधानसेनापतिद्वारा शिविर निरीक्षण



GEDSC DIGITAL CAMERA

नेपाल समाचारपत्र
गौर, रौतहट
तीन दिनदेखि रौतहटको गौरमा सञ्चालित निःशुल्क सघन स्वास्थ्य शिविरको बुधबार प्रधानसेनापति राजेन्द्र क्षत्रीले निरीक्षण गर्नुभएको छ। नेपाल सरकार स्वास्थ्य मन्त्रालय र नेपाली सेनाको संयुक्त आयोजनामा गत ८ गतेदेखि साताव्यापी निःशुल्क सघन स्वास्थ्य शिविर सञ्चालन भइरहेको छ।

मोबाइल अस्पतालका रूपमा रहेको नेपाली सेनाको अत्याधुनिक सुविधा सम्पन्न शिविरमा रौतहटसहित बारा, सर्लाही, मकवानपुर र छिमेकी भारतका बिरामीसमेत उपचारका लागि आएपछि शिविरमा भीड लागेको छ। शिविरमै शल्यक्रिया र भिडियो एक्सरे सहितको उपचार सेवा र निःशुल्क औषधिको व्यवस्था गरिएको छ। नेपालमा नै पहिलोपटक यस प्रकारको शिविरमा स्वास्थ्य मन्त्रालयबाट खटाइएको सिभिल डाक्टरसहित १ सय ५० जनाको टोली परिचालित रहेका छन्। दुई दिनमा २ हजारभन्दा बढीको उपचार भएको र जसमध्ये ५ महिला र ४ पुरुषको शल्यक्रिया गरिएको नेपाली सेनाले जनाएको छ।

निरीक्षणका क्रममा प्रधानसेनापति राजेन्द्र क्षत्रीले स्वास्थ्य मन्त्रालयको समन्वयमा नेपाली सेनाले मानवीय सेवा गरेको बताउनुभयो। उहाँले जनता र सेनाको सम्बन्ध सुमधुर बनाउन पनि यस्तो शिविरको आयोजना हुनु जरुरी रहेको बताउनुभयो। शिविरबाट बिरामीले फाइदा लिनुपर्नेमा उहाँको जोड रहेको छ।

प्रतिक्रिया दिनुहोस्