एमाले एकढिक्का भएर स्थानीय निर्वाचनमा जुट्ने



नेपाल समाचारपत्र
भक्तपुर
नेकपा एमालेले एकढिक्का भएर सिंगो पार्टी पंक्ति स्थानीय निर्वाचनमा जुट्ने निर्णय गरेको छ।

नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली निवास बालकोटमा बिहीबार बसेको स्थायी कमिटी बैठकले आगामी वैशाख ३१ गते हुने स्थानीय निर्वाचनका लागि जिल्ला, क्षेत्र, नगर र गाउँ तहमा पार्टीको निर्वाचन परिचालन कमिटी बनाउने निर्णय गरेको छ।

बैठकमा स्थानीय चुनावको तयारीका विषयमा गम्भीर छलफल भएको बताउँदै एमाले प्रचार विभाग प्रमुख एवं पार्टी सचिव योगेश भट्टराईले एमालेको सिंगो पार्टी पंक्ति स्थानीय निर्वाचनमा जुट्ने निर्णय भएको बताउनुभयो।

बैठकले निर्वाचनमा पार्टीका उम्मेदवार छनौटका निम्ति कार्यविधि र उम्मेदवारको मापदण्ड निश्चित गरेको र मतदाता शिक्षा चलाउनेसमेत निर्णय गरेको भट्टराईले बताउनुभयो।

प्रचार विभाग प्रमुख भट्टराईले भन्नुभयो– ‘उम्मेदवार मापदण्डमा मूलतः पार्टीप्रति प्रतिबद्ध, अनुशासित र कुनै पनि भ्रष्टाचार तथा नैतिक पतन हुने काममा नलागेको र जनताबीच लोकप्रिय र निर्वाचन जित्ने व्यक्तिलाई उम्मेदवार बनाइने निर्णय बैठकले गरेको छ। उहाँले सबै क्षेत्रलाइ समेट्ने गरी उम्मेदवारको मापदण्ड बनाएको बताउनुभयो।

बैठकले निर्वाचन सुनिश्चित गर्न सरकारको ध्यानाकर्षण गराएको बताउँदै निर्वाचन आचारसंहितालाई उलंघन गर्ने र बजेट विनियोजन गर्ने काम नगर्न सरकार र निर्वाचन आयोगको ध्यानाकर्षण गराएको उहाँले बताउनुभयो।

बैठकले निर्वाचन आचारसंहिताविपरीत भएका कर्मचारी सरुवा, बढुवा, पदस्थापन र बजेट विनियोजन जस्ता कार्य तत्काल रोक्न भनेको छ।

गाउँपालिका र नगरपालिकाका वडा अध्यक्ष र सदस्यहरू सम्बन्धित कमिटीको सिफारिसमा जिल्ला कमिटीले टुंगाउने, नगरपालिकाका प्रमुख, उपप्रमुख सम्बन्धित कमिटीको सिफारिस र जिल्ला कमिटीको राय सुझावमा प्रदेश कमिटीले अन्तिम टुंगो लगाउने, यसै गरी महानगर र उप–महानगरपालिकाको प्रमुख उपप्रमुखको जिल्ला कमिटीको सिफारिस लिँदै प्रदेश कमिटीको सल्लाहमा केन्द्रीय कमिटीले टुंगो लगाउने बैठकले निर्णय गरेको छ।

बैठकले पार्टीका र पछिल्लो समयमा एमाले प्रवेश गरेको नेता–कार्यकर्ताको यथोचित जिम्मेवारी दिन पार्टी सचिवालयलाई गृहकार्य गर्न जिम्मा दिएको छ।
एमालेले २ नम्बर प्रदेशमा स्थगित भएको मेची–महाकाली अभियानको कार्यक्रम छिटै पुनः शुरू गर्ने भएको उहाँले बताउनुभयो। २ नम्बर प्रदेशमा वैशाख १ गतेदेखि निर्वाचन अभियान शुरू हुने एमाललेले जनाएको छ।

प्रदेशस्तरीय विस्तारित भेला, जिल्लाको कार्यकर्ता भेला र जिल्ला, जिल्ला नगर र गाउँमा सभा चैतभित्र सम्पन्न गर्ने बैठकमा निर्णय भएको उहाँले बताउनुभयो।
बैठकले मेची–महाकाली अभियान सफलताका साथ सम्पन्न भएको ठहर गरेको छ। बिहान ११ बजेदेखि करिब ४ बजेसम्म चलेको बैठकमा अध्यक्ष ओली, वरिष्ठ नेता झलनाथ खनाल, माधव नेपाल, उपाध्यक्ष वामदेव गौतम, भीम रावल, महासचिव ईश्वर पोखरेल, सचिव प्रदीप ज्ञवालीलगायत अधिकांश स्थायी कमिटीका नेताहरूको सहभागिता रहेको थियो।

प्रतिक्रिया दिनुहोस्