चिनियाँ रक्षामन्त्री नेपालमा ‘नेपाल एक चीन नीतिमा प्रतिबद्ध’



नेपाल समाचारपत्र
काठमाडौं
प्रधानमन्त्री पुष्पकमल दाहालले नेपाल सधैं एक चीन नीतिमा प्रतिबद्ध रहेकाले नेपालमा चीनविरोधी गतिविधि हुन नदिने प्रतिबद्धता व्यक्त गर्नुभएको छ।

चीनको अभिन्न अंगका रूपमा रहेका तिब्बत र ताइवानविरोधी गतिविधिको पनि नेपालले विरोध गर्ने उहाँले प्रस्ट्याउनुभएको छ। बिहीबार ३ दिने नेपाल भ्रमणमा आउनुभएका चिनियाँ रक्षामन्त्री जनरल चाङ वान क्वानसँगको भेटवार्तामा प्रधानमन्त्री दाहालले यस्तो प्रतिबद्धता व्यक्त गर्दैै नेपालको आर्थिक विकासमा चिनियाँ सहयोग महत्त्वपूर्ण हुने बताउनुभएको हो।

चीनले अघि सारेको वान बेल्ट वान रोड (ओबीओआर) परियोजनाको महत्त्वपूर्ण साझेदार रहन नेपाल तत्पर रहेको उहाँले बताउनुभएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।

प्रतिउत्तरमा चिनियाँ रक्षामन्त्री चाङले एक चीन नीतिको नेपालको प्रतिबद्धताप्रति आभार व्यक्त गर्दै नेपालका सैनिकहरूको कार्यकुशलता र क्षमता अभिवृद्धिका लागि चीन सहयोग गर्न तत्पर रहेको बताउनुभएको थियो।

सोही क्रममा केही समयभित्र नेपाली र चिनियाँ सैनिकहरूको संयुक्त अभ्यास हुनलागेको रक्षामन्त्री चाङले प्रस्ट्याउँदै विपद् व्यवस्थापनका लागि खटिने सैनिकका लागि आवश्यक पर्ने उद्धार सामग्री उपलब्ध गराउने बताउनुभएको थियो। रक्षामन्त्री चाङले बिहीबारदेखि हुनलागेको प्रधानमन्त्रीको चीन भ्रमणको सफलताको कामना गर्नुभएको थियो।

यसै बीच चिनियाँ रक्षामन्त्री चाङले बिहीबार आफ्ना नेपाली समकक्षी बालकृष्ण खाँडसँग पनि शिष्टाचार भेटवार्ता गर्नुभएको छ। उहाँहरूबीच द्विपक्षीय सैनिक अभ्याससँगै चीनले नेपालका सैनिकलाई उपलब्ध गराउने बन्दोबस्ती सामग्रीको बारेमा छलफल भएको बताइएको छ।

प्रतिक्रिया दिनुहोस्