एसईईका परीक्षार्थीबाट जबरजस्ती रकम असुली सरोकारवाला निकाय मौन



दीपेन्द्र शर्मा, जाजरकोट
जरकोटमा विद्यार्थीबाट माध्यमिक शिक्षा परीक्षा (एसईई) को प्रवेश पत्र लिँदा परीक्षा खर्चबापत रकम असुलेको खुलासा भएको छ। जिल्लाका विभिन्न परीक्षा केन्द्रमा विद्यार्थीबाट गैरकानुनीरूपमा परीक्षा केन्द्र व्यवस्थापन खर्चबापत भनेर रकम असुलेको खुलासा भएको हो। परीक्षा सञ्चालन तथा व्यवस्थापन भन्दै जिल्लाका विभिन्न विद्यालयले विद्यार्थीबाट ३ सयदेखि २ हजार ५ सयसम्म रकम असुल्ने गरेको विद्यार्थी तथा अभिभावकको गुनासो छ। प्रवेशपत्र लिन आएका विद्यार्थीबाट परीक्षा सञ्चालन खर्च भन्दै विद्यालयका प्रधानाध्यापकलगायतका शिक्षकले रकम उठाउने गरेको विद्यार्थी तथा अभिभावकले बताएका छन्।

जिल्लाको पश्चिममा पर्ने श्रीमावि शिर्पाचौर कोर्ताङबाट परीक्षा दिइरहेकी विमला घर्तीले प्रवेशपत्र ल्याउन जाँदा आफूले २ हजार बुझाएको बताइन्। सबैलाई २ हजारका दरले रकम दिन अनिवार्य उर्दी जारी गरिएको उनले गुनासो गरिन्। त्यस्तै पञ्चाला मावि पञ्चाला दह केन्द्रमा पनि विद्यार्थीबाट २ हजारका दरले रकम उठाएको अभिभावक सृजना बुढामगरले बताइन्।

परीक्षामा खटिएका केन्द्राध्यक्ष र अनुगमनका लागि जिल्ला शिक्षाबाट आएका निरीक्षकलाई खानबस्न, सुरक्षाकर्मीको चियानास्ता र परीक्षामा सहयोग गर्न भनी गएका शिक्षकलाई खानबस्नका लागि उक्त रकम खर्च गर्ने गरिएको एक शिक्षकले बताए। ती शिक्षकका अनुसार परीक्षामा खटिएकालाई राम्रोसँग ‘खुवाइपियाइ’ गरे परीक्षा फितलो गराउन सकिने र नत्र परीक्षा कडा हुने भन्ने भ्रम छरेपछि विद्यार्थीले मागेअनुसारको रकम दिन बाध्य भएका हुन्।

शिवपुरी मावि गर्खाकोटका अभिभावक भगवानदेव शाहीले नियमविपरीत विद्यालयका शिक्षकले खुलेआम रकम उठाउँदा पनि सरोकारवाला निकाय मौन बसेको आरोप लगाए। उनले त्यस विद्यालयले २ हजार रुपियाँसम्म असुलेको दाबी गरेका छन्।

जिल्लाका कोर्ताङ, मजकोट, दह, जुगाथापाचौर, सीमा, दशेरा, पजारु, कार्कीगाउँ, लिम्सालगायतका स्थानका विभिन्न विद्यालयमा विद्यार्थीबाट २ हजार रुपियाँसम्म परीक्षा सञ्चालन खर्च भनेर रकम उठाउने गरेको पाइएको छ। तर विद्यार्थीले परीक्षा बिग्रिने डरले कुनै विरोध गर्न नसकेको बताएका छन्। रकम नदिए प्रवेशपत्र नै नदिने भएपछि आफूहरूले बाध्य भएर रकम तिर्नुपरेको विद्यार्थीको गुनासो छ। ती क्षेत्रका विद्यालयमा विगतमा पनि चर्काे रकम परीक्षा सञ्चालनको नाउँमा उठाउने गरेको गत वर्ष एसएलसी उत्तीर्ण गरेकी दहकी गीता घर्तीमगरले बताइन्। विद्यार्थीले एक्लै बोले सरहरूले परीक्षा बिगारिदिने हुन् कि भनेर विरोध गर्न नसकेको उनले बताइन्। रकम उठाएको बारे सम्बन्धित विद्यालयका प्रधानाध्यापकलाई सम्पर्क गर्न खोज्दा सम्पर्क हुन सकेन।

जिल्ला शिक्षा अधिकारी ललितविक्रम सिंहले कुनै परीक्षार्थीबाट परीक्षा या अन्य बहानामा रकम लिन नपाइने बताए। यसरी कसैले रकम लिएको पाइएमा कडा कारबाही हुने बताए। जिल्लामा विगतको एसएलसी परीक्षादेखि नै परीक्षा सञ्चालन, प्रमाणपत्र शुल्क भन्दै विद्यार्थीबाट शिक्षकले अनियमित ढंगले मनपरी रकम असुल्ने गरेको स्थानीय अभिभावकको गुनासो छ। उनीहरूले सरोकारवाला निकायले कारबाही नगरेका कारण वर्षेनी विद्यार्थीलाई शिक्षकले लुट्ने गरेको आरोप लगाए। चैत ३ बाट शुरू भएको एसईई परीक्षामा जिल्लाका १९ वटा परीक्षा केन्द्रबाट ५ हजार ६ सय विद्यार्थीले परीक्षा दिइरहेका छन्।

प्रतिक्रिया दिनुहोस्