परीक्षा दिन प्रहरी नै ‘कैदी’



हेटौंडा, (नेस) । मकवानपुरको भीमफेदीस्थित क्षेत्रीय कारागारमा कार्यरत एक प्रहरी जवानले माध्यमिक शिक्षा परीक्षा (एसईई) मा ‘कैदी’ बनेर परीक्षा दिएको खुलासा भएको छ।

भीमफेदीस्थित कारागारमा अन्य १० कैदीबन्दीसँग बसेर परीक्षा दिन सहज हुने अपेक्षासहित प्रहरी जवान यमबहादुर कुमालले चैत ३ गतेदेखि परीक्षा दिँदै आएका थिए। तर, परीक्षाको तेस्रो दिन चैत ६ गते कुमाल कैदी नभएर त्यहीं कार्यरत प्रहरी भएको खुल्न आएको थियो।

जिल्ला परीक्षा समन्वय समितिले कुमालले दिएको ३ वटै परीक्षा रद्ध गर्ने र बाँकी परीक्षा दिन नपाउने गरी निष्कासन गर्ने निर्णय गरेको सहायक जिल्ला शिक्षा अधिकारी हुमनाथ शर्माले बताए।

परीक्षा रद्ध गर्नेबाहेक कुमाललाई विभागीय कारबाही गरिएको छैन। उनी पहिलेजस्तै कारागारमा निर्धक्क कार्यरत छन्। कारागार र विद्यालयबीचको आपसी समन्वय अभावका कारण यस्तो भएको भन्दै सहायक जिशिअ शर्माले भने– ‘कुमाललाई किन कारबाही गर्नु।’

कुमाललगायतको फाराम भर्न सहयोग गरेका हेटौंडाका शिक्षक ज्ञानेन्द्र बर्तौलाले कारागारको पुस्तकालयलाई इच्छुक परीक्षार्थीको भर्न भन्दै फाराम पठाएका थिए। त्यहाँबाट प्राप्त फाराम नै आफूले विद्यालयलाई बुझmाइदिएको बर्तौला बताउँछन्। आफूले केही वर्षदेखि खुला परीक्षार्थीका लागि सहयोग गदै आएको बर्तौलाले बताए। बर्तौलाका अनुसार कुमालसँग राजस्व मात्र लिइएको छ। यसबाहेक अतिरिक्त शुल्क लिइएको छैन।

हेटौंडा–२ स्थित सिद्धार्थ खुला विद्यालयबाट ‘कैदी’ भनेर कुमालको परीक्षा फाराम भरिएको थियो। कुमालले यसरी परीक्षा दिन नपाउने तथ्य खुलेपछि कारागारबाट १० जनाले परीक्षा दिइरहेको सहायक जिल्ला शिक्षा अधिकारी शर्माले बताए।

प्रतिक्रिया दिनुहोस्