कृषिको मौलिकता जोगाउन सहकारीको भूमिका- मन्त्री चौधरी



काठमाडौँ, १० चैत । कृषिमन्त्री गौरीशङ्कर चौधरीले नेपाली कृषिको मौलिकता जोगाउन सहकारी संस्थाको महत्वपूर्ण भूमिका रहेको बताउनुभएको छ ।

नेपाल कृषि केन्द्रीय सहकारी सङ्घले काठमाडौँमा आज आयोजना गरेको ‘किसानको पोको’ बिक्री कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री चौधरीले कृषिलाई व्यावसायीकरण गर्न स्थानीय उत्पादनलाई जोगाउनुपर्ने बताउनुभयो ।

कृषिमा आधुनिकता र व्यवसायीकताका नाममा नेपालको मौलिक उत्पादन लोपोन्मुख हुने अवस्थामा पुगेको मन्त्री चौधरीको भनाइ थियो ।

अन्नबालीमा मुरली मकै, पुराना रैथाने जातका धान, कोदो, फापर, जुनेलो, सिलम, अदुवा, राजमा, चना, आलस, टाटेसिमी, मस्याङ्, कोइरालो, रहर, खेसरी, मुसुरोलगायत सहकारीमार्फत संरक्षण गरी बिक्री वितरणमा सहयोग पु¥याउने उद्देश्यका साथ कार्यक्रमको आयोजना गरिएको हो ।

पछिल्लो पटक नेपालमा भित्रिएका बहुर्राष्ट्रिय कम्पनीका बीउबिजनले नेपालको मौलिक स्वादलाई विस्थापित गरेको छ । स्थानीय प्रजातिका खाद्यन्नबाली लोप हुन थालेको छ । जनसङ्ख्या बढिरहेका कारण कृषिको आधुनिकीकरण हुनुपर्ने भनाइले स्थानीय जातको बीउबिजनको सट्टामा बहुर्राष्ट्रिय कम्पनीका बीउबिजन भित्रिएका छन् ।

कार्यक्रममा राष्ट्रिय योजना आयोगका पूर्वउपाध्यक्ष डा युवराज खतिवडाले भूमिहीन सीमान्तकृत र कृषि मजदुरका हातमा खेतियोग्य जमिन नहुन्जेल कृषिको दिगो विकास असम्भव रहेको बताउनुभयो ।

राष्ट्र बैंङ्कका पूर्वगभर्नर समेत रहनुभएका डा खतिवडाले ३५ प्रतिशत जनताका हातमा व्यावसायिक खेती गर्ने जग्गा नभएकाले कृषिमा दिगो विकास नभएको बताउनुभयो । नेपालको कृषि गणना २०६८ अनुसार कृषि मजदुरको सङ्ख्या २० प्रतिशत तथा भूमिहीन सीमान्तकृत वर्गको सङ्ख्या १५ प्रतिशत रहेको छ ।

“थोरै व्यक्तिका हातमा प्रचुर जमिन रहे पनि त्यो वर्गले खेती नै नगर्ने भएकाले नेपाली कृषि परनिर्भरतातर्फ उन्मुख भएको हो,” खतिवडाले भन्नुभयो ।

पूर्वसहकारी मन्त्री केशव बडालले सामूहिक र सहकारीखेती कृषिमा आशालाग्दो भएकाले जग्गाको अवैधानिक खण्डिकरण रोक्नुपर्नेमा जोड दिनुभयो । नेपाल कृषि सहकारी केन्द्रीय सङ्घका अध्यक्ष खेम पाठकले कृषि भूमिलाई एकीकरण गर्नुपर्ने बताउनुभयो । रासस

प्रतिक्रिया दिनुहोस्