छुट्टा–छुट्टै दुर्घटनामा ३ जनाको मृत्यु



बिष्णुप्रसाद भण्डारी,अछाम

अछाममा भएका छुट्टा–छुट्टै दुर्घटनामा परि ३ जनाका मृत्यु भएको छ । जिल्लाको कमलबजार नगरपालिका वडा नं. ७ साविकको सेरा गासिब वडा नं. २ जामा निवासी शेरे कामीकी १५ बर्षिया छोरी धनसरा कामी हिजो भीरबाट खसेर ज्यान गएको छ । साविकको सेरा गासिमा पर्ने मनकामना सामुदायीक बनको हुम्कु भन्ने ठाउँमा भीरबाट खासेर उनको घटनास्थलमै मृत्यु भएको स्थानीय धन बिकले जानकारी दिनुभयो ।

घाँस काट्नका लागि बिहान घरबाट जंगलमा गएकी धनसरा साँझ अबेर सम्म पनि घरमा नआएपछि घर परिवारले खोजी सुरु गरेका थिए । उनी मनकामना सामुदायीक बनको हुम्कु भन्ने ठाउँमा मृत भेटिएको आफन्तले जानकारी दिएका छन् । धनसरा स्थानीय मनकामना माबि फल्टानेमा कक्षा ८ मा अध्यनरत थिईन् ।

उनको आजै अन्तिम संस्कार गरिने आफन्तले जानकारी दिएका छन् । यस्तै हिजो बेलुकी अछामको ठुलासैन नजिकै ट्याक्टरबाट खसेर २९ बर्षिय एक पुरुष जनाको ज्यान गएको छ । हिजो नै कालिकास्थानमा डोजरले सडक खन्ने क्रममा खसेको ढुंगा लागेर एक महिलाको ज्यान गएको छ ।

ठुलासैनमा भएको दुर्घटनामा दैलेख चामुण्डा घर भई मंगलसेनमा होटेल ब्यावसाय गर्दै आएका २९ वर्षिया तपेन्द्र शाहीको मृत्यू भएको अछाम प्रहरीले जनाएको छ । प्रत्यक्ष दर्शीका अनुसार ट्याक्टरको अगाडी बसेका शाही ट्याक्टरवाट खसेको र त्यसपछि मृत्यू भएको प्रहरीको भनाई छ । जिल्ला प्रहरी कार्यालय अछामका निमित्त प्रमुख प्रहरी निरिक्षक महेन्द्र कुमार कलौनीका अनुसार मृतक शाहीको शव सडकमा राखिएको कल्भर्टमा होमपाईप भित्र राखिएको अवस्थामा फेला परेको थियो ।

शाहीको मृत्यू पश्चात आफु फस्ने डरले ट्याक्टर मालिक र त्यसमा रहेका चालक सह–चालकले त्यहाँ राखेको हुन सक्ने कलौनीले बताउनुभयो । लु ३ प ४१७१ नम्वरको ट्याक्टर सहित त्यसका सह–चालक सन्तोश बिकलाई नियन्त्रणमा लिएर सोधपुछ भैरहेको र चालक डम्मर साउँद नाम गरेका ब्याक्ति फरार रहेको प्रहरी निरिक्षक कलौनीको भनाई छ । मृतकको शव पोष्टमार्टमका लागि जिल्ला अस्पताल अछाममा राखिएको छ ।

उता कालिकास्थानमा भएको र्दुघटनामा चापाखोला भन्ने ठाँउमा डोजर (जेसीबी) ले सडक खन्ने क्रममा सडक माथिबाट पल्टिएको ढुंगा लागेर पुल्लेतोला ५ रिठा बस्ने अन्दाजि ५० वर्षिया कैली रावलको मृत्यू भएको बताईएको छ ।

सडक खनिरहेको ठाँउ नजिकै रहेकी रावलको डोजरले खनेको ढुंगा लागेर मृत्यू भएको र घटनाको प्रहरी मुचुल्का बनाई पोष्टमार्टमका लागि जिल्ला अस्पताल ल्याईएको प्रहरी निरिक्षक कलौनीले जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस्