अख्तियारको छानबिनले बिद्यालयको पढाई प्रभावित



विमल विष्ट ,डोटी ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगको छानबिनका कारण डोटीका एक बिद्यालयको पढाई लामो समय देखी प्रभाबित भएको छ । जिल्लाको उत्तरी क्षेत्रमा पर्ने बगलेक गाबिस–९मसिन्तोलामा रहेको मष्टेश्वर आधारभुत बिद्यालयमा शिक्षकले भ्रष्टाचार गरेको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगको सुदूरपश्चिम क्षेत्रीय कार्यालय दिपायलले छानबिन सुरु गरेपछि बिद्यालयको पढाई प्रभाबित भएको हो ।

कक्षा ५ सम्म पढाई हुने गरेको उक्त बिद्यालयमा ५जना शिक्षक कार्यरत रहेकोमा अख्तियारले ४ जना शिक्षकले भ्रष्टाचार गरेको भन्दै छानबिन सहित निलम्बन गरेपछि हाल उक्त बिद्यालयमा एकजना मात्रै कार्यरत रहेको बताईएको छ ।

बग्लेग गाबिसबाट दिईएको अनुदानमा भ्रष्टाचार भएको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोग क्षेत्रीय कार्यालय दिपायलमा परेको उजुरीमाथी छानबिनको क्रममा बिद्यालयको पढाई प्रभावित भएको स्थानिय हर्कबहादुर बोगटीले बताउनु भयो । उहाँले भन्नु भयो ‘शिक्षकले भ्रष्टाचार ग¥यो भन्ने उजुरी परेछ,अख्तियारले छानबिन भन्दै निलम्बन गरिदियो,अहिले बिद्यालयमा पढाउने मान्छे नै छैनन्,हाम्रा नानीको भविष्य बिग्रीयो ।’

सो बिद्यालयमा स्थायी शिक्षक एक, सट्टा एक, करार एक र राहात दुई गरि सरकारी अनुदानका पाँच जना शिक्षक रहेकोमा अख्तियारले चार जनालाई निलम्वन गरेपछि हाल एक जना करार शिक्षक मात्रै कार्यरत छन । बगलेग गाबिसबाट २०६४÷०६५ देखि ०७०÷०७१ सम्म बिद्यालयको भौतिक पूर्वाधारका लागि बिनियोजन भएको ४ लाख ५५ हजार रुपैयाँ हिनामिना भएको भन्दै परेको वेनामी उजुरीमा अख्तियारले छानमिन गर्ने क्रममा सो अवधीमा क्रमैसंग प्रधानाध्यापक बनेका शिक्षकहरु लक्ष्मण साफी, मुक्तीराज जोशी, सुनिता केसी र बिरवहादुर साउँदलाई फागुन १७ गते निलम्वन गरेपछि बिद्यालयमा एक जना करार शिक्षक नरवहादुर बोहरामात्रै कार्यरत छन ।

चार शिक्षकहरुसंगै बगलेकका प्राबिधिक धनवहादुर विष्ट र सोही गाबिसका तत्कालीन सचिव भीमवहादुर धामी पनि अनुसन्धानमा रहेको बताईएको छ । प्राबिधिक विष्ट पनि निलम्वनमा छन् । धामी सेवानिबृत्त भईसकेका छन् । यस्तै बिद्यालय व्यवस्थापन समिति अध्यक्ष महा साउँद पनि अख्तियारको अनुसन्धानमा छन् ।

२०७१ साल भाद्र ५ गते पहिलो पटक अख्तियारले बिद्यालयमा उजुरीका सम्वन्धमा पत्राचार गरेको थियो । त्यसबेला देखि भईरहेको अनुसन्धान अझै टुंगिएको छैन ।

प्रतिक्रिया दिनुहोस्