जिआउर रहमानको अग्रता



काठमाडौं, (नेस)
राजधानीमा जारी एसियन जोनल ३.२ चेस प्रतियोगिताको चौथो चरणको समाप्तिसम्ममा शीर्ष वरीयता प्राप्त बंगलादेशी ग्रान्डमास्टर जिआउर रहमानको अग्रता रहेका छन्।

साढे तीन अंकसहित रहमान शीर्ष स्थानमा रहेका हुन्। उनले चौथो चरणमा आफ्नै राष्ट्रका ग्रान्डमास्टर हुसेन एनामुएललाई पराजित गरे। त्यस्तै प्रतियोगितामा नेपाली खेलाडी केशव श्रेष्ठले पनि जित हात पारे। नेपालका पूर्वराष्ट्रिय च्याम्पियन केशवले चौथो चरणमा श्रीलंकाका कालु गाम्मिटिया आरएसलाई हराए। उनको तीन अंक बनेको छ।

यसैगरी नेपालका हिमाल लामा, बंगलादेशका अन्तर्राष्ट्रिय मास्टर अबु समियन सकिल र भगवतीप्रसाद शर्माको साढे दुई अंक छ। हिमालले आफ्नै राष्ट्रका क्षितिज भण्डारी, सकिलले नेपालका बद्रीलाल नेपाली तथा भवगतीले नेपालका सजिन महर्जनलाई हराए।

महिलातर्फ डब्लुआईएम हमिद रानी लागातार चौथो जित हात पार्दै शीर्ष स्थानमा रहेकी छिन्। उनले चौथो चरणमा सरमिन समिहा समिमीलाई हराइन्। डब्लुआईएम समिमा अख्तरले तीन अंकसहित उनलाई पछ्याइरहेकी छिन्। चौथो चरणमा उनले श्रीलंकाकी साउमी जैनेबलाई पराजित गरिन्।

त्यस्तै बंगलादेशका नजराना खान र सुल्ताना सरमिन सिरिन बीच बराबरी भयो। यी दुईको साढे दुई अंक छ। अन्य खेलमा बंगलादेशकी मोहमुदा हम चौधरीले नेपालकी सबिना श्रेष्ठलाई पराजित गरिन्।

प्रतिक्रिया दिनुहोस्