कांग्रेस बैठक सर्यो



काठमाडौं, (नेस)
पछिल्लो राष्ट्रिय राजनीति, स्थानीय निर्वाचन र पार्टीको आन्तरिक विषयमा छलफल र निर्णय गर्न नेपाली कांग्रेसको आज बिहीबारदेखि बस्ने भनिएको केन्द्रीय समितिको बैठक तीन दिन पर सारिएको छ।

बैठकको एजेन्डा तय गर्न बुधबार बिहान पार्टी नेतृत्वलाई भेट्न गएका केन्द्रीय कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेललाई पार्टी सभापति देउवाले अहिले राष्ट्रिय राजनीतिमा देखिएको असहजता हटाउन अन्य दलहरूसंग छलफल र वार्ता भइरहेकाले पार्टीको केन्द्रीय समिति बैठक आइतबार सार्न निर्देशन दिनुभएको हो।

‘बिहीबार बस्ने भनिएको केन्द्रीय समितिको बैठक १३ गतेका लागि सरेको छ।’ केन्द्रीय कार्यालयका मुख्य सचिव पौडेलले नेपाल समाचारपत्रसंग भन्नुभयो– ‘हाम्रा पार्टीका शीर्ष नेताहरू स्थानीय निर्वाचन, संविधान संशोधनलगायत राष्ट्रिय राजनीतिका विषयमा अन्य दलहरूसंगको छलफलमा व्यस्त भएका कारण बैठक तीन दिनपछि सारिएको हो।’ स्थानीय निर्वाचनको मिति नजिकिँदै छ, मधेसवादी केही दलहरू निर्वाचनमा भाग नलिने भनिरहेका छन्’ मुख्य सचिव पौडेलले भन्नुभयो– ‘राष्ट्रिय राजनीतिमा देखिएको असजता हटाएर अभिभावकत्वको भूमिका निभाउनुपर्ने जिम्मेवारी कांग्रेसको काँधमा भएकाले शीर्ष नेताहरू व्यस्त भएका हुन्।

लामो समयपछि बस्न लागेको केन्द्रीय समितिको बैठकमा पार्टी सभापतिको चर्को आलोचना हुने पनि बताइएको छ। पार्टीका वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षले विभिन्न नियुक्तिका विषयमा असन्तुष्टि राख्दै आएका छन्। बैठकमा स्थानीय निर्वाचन, संविधान संशोधन, सरकारको काम कारवाहीलगायतका विषयमा पनि छलफल हुने बताइएको छ। स्थानीय निर्वाचनको सन्दर्भमा जिल्लाको वस्तुस्थिति बुझ्न कांग्रेसले गत पुस १५ गते ७५ जिल्लामै वर्तमान तथा पूर्वकेन्द्रीय सदस्यहरू खटाएको थियो। उनीहरूको प्रतिवेदन पनि केन्द्रीय बैठकमा प्रस्तुत हुने बताइएको छ। बैठकमा सभापति देउवाले दुई महिनाभित्र गरिसक्नुपर्ने पदाधिकारी तथा केन्द्रीय सदस्य मनोनयन तथा विभिन्न विभाग र समितिहरूको गठनमा भएको ढिलाइका बारेमा पनि केन्द्रीय सदस्यहरूले प्रश्न उठाउने भएका छन्।

प्रतिक्रिया दिनुहोस्