रेविजविरुद्धको भ्याक्सिन अभाव



दीपेन्द्र शर्मा, जाजरकोट
सरकारी लापरबाहीका कारण जाजरकोटमा रेविजविरुद्ध लगाउने एन्टिरेविज भ्याक्सिन आपूर्ति नहँुदा बिरामीले सेवा पाउन सकेका छैनन्। जिल्ला स्वास्थ्य कार्यालय जाजरकोटमा लामो समयदेखि रेविजविरुद्धको एन्टिरेविज भ्याक्सिन आपूर्ति नहँुदा रेविजविरुद्धको भ्याक्सिन स्थानीयहरू निजी मेडिकलमा चर्को शुल्क तिरेर लगाउन बाध्य भएका छन्। सहुलियतमा लगाउन पाइने भ्याक्सिन नपाउँदा जाजरकोटका स्थानीय मर्कामा परेका छन्।

जिल्ला स्वास्थ्य कार्यालयमा नियमित रूपमा लगाउने बिरामीहरू मिसन अस्पताल चौहरजहारी रुकुम तथा अन्यत्र जाने गरेका छन्। कार्यालयमा आउने नियमित बिरामीहरू तथा कुकुरले टोक्दा पहिलो भ्याक्सिन लगाउन आउँदा कार्यालयले रित्तै हात फर्काउने गरेको छ।

घरमा कुकुरले टोक्दा रेविजविरुद्धको एन्टिरेविज भ्याक्सिन लगाउन जिल्ला स्वास्थ्य कार्यालय आउँदा कर्मचारीले छैन भनी पठाएपछि प्रति भ्याक्सिनको ८ सयका दरले निजी मेडिकलमा गएर लगाउनुपरेको भेरी नगरपालिका–१ जाजरकोटकी ४० वर्षीया देवी पुनले बताइन्। ‘घरमा भएको कुकुरले टोकेको १० दिन भयो, पहिला बहुलाएको हो कि होइन भनेर घरमा बसें, १० दिनमा कुकुर मरेपछि जिल्ला स्वास्थ्य कार्यालयमा आएँ तर औषधि पाइएन’ –उनले भनिन्।

‘कुकुर टोकेको दिनमा आउँदा पहिलोपटकको मात्र भ्याक्सिन लगाउन पाएँ, दोस्रोपटक आउँदा कर्मचारीले औषधि सकियो भनेपछि बाँकी ४ वटा निजी औषधि पसलमा किनेर लगाउन बाध्य भएको जिल्लाको पश्चिममा पर्ने कार्कीगाउँ–३ मनाघाटकी रूपसरा खत्रीले बताइन्।
प्रत्येक महिनामा क्षेत्रीय मेडिकल स्टोर नेपालगन्ज बाँकेबाट आउनुपर्ने भ्याक्सिन नआउँदा जिल्लामा समस्या भएको जिल्ला स्वास्थ्य कार्यालय जाजरकोटका प्रमुख धीरजंग शाहले बताए। ‘जिल्लाले प्रत्येक महिनामा १ सय ५० का दरले एन्टिरेविज भ्याक्सिन पाउँथ्यो, फागुन महिनाको पनि पूरा आएन, १ सय ५० आउनुपर्नेमा फागनु पहिलो हप्तामा ५० मात्र आयो, चैत्रको त आएकै छैन, यसैले गर्दा जिल्लामा अभाव भया’ –शाहले भने। फागुनमा मात्र जाजरकोटमा ३३ जनाले रेविजविरुद्धको भ्याक्सिन नियमित लगाउने गरेका तथा यो महिनामा १० जनाले भ्याक्सिन सकिँदा अन्यत्र गएर लगाउने गरेको शाहले बताए। बहुलाएको कुकुर, स्यालले टोक्दा रेविज नलागोस् भनी लगाउने एन्टिरेविज भ्याक्सिन पाँचपटक लगाउनुपर्ने भएकाले नियमितता दिन बिरामीले अन्यत्र गएर लगाउने गरेको उनले बताए। जिल्लामा एन्टिरेविज भ्याक्सिन आउन अझै दुई हप्ता लाग्ने प्रमुख शाहले जानकारी दिए। यसबारेमा बुझ्न क्षेत्रीय मेडिकल स्टोर नेपालगन्ज बाँकेमा सम्पर्क गर्न खोज्दा सम्पर्क हुन सकेन।

प्रतिक्रिया दिनुहोस्