मनकामना मन्दिरको जीर्णोद्धार सक्न अझै १ वर्ष लाग्ने



सन्तोष अधिकारी, गोरखा
गोरखाको प्रसिद्ध धार्मिक स्थल मनकामना मन्दिर जीर्णाेद्धारको सबै काम सम्पन्न गर्न अझै एक वर्ष लाग्ने जीर्णाेद्धार विकास समितिले जनाएको छ। पुरानो मन्दिर भत्काएर जगैदेखि पुनर्निर्माण थालिएको मन्दिर पुनर्निर्माणको सबै काम सक्न एक वर्ष लाग्ने भएको हो।

जीर्णाेद्धार गर्न काठ र कामदारको अभाव भएकाले योजनाअनुसार कामले गति नलिएको मनकामना मन्दिर जीर्णाेद्धार समितिका संयोजक नरेन्द्रबाबु श्रेष्ठ बताउँछन्। अहिले मनकामना मन्दिरको पहिलो तलासम्म सम्पन्न गरेर त्यसमा छाना हाल्ने काम सम्पन्न भएको छ। कामदार अभाव भएकै कारणले पहिलो तलाकै छाना राख्न करिब तीन महिना लागेको श्रेष्ठ बताउँछन्। मन्दिरका लागि आवश्यक काठ चितवनबाट ल्याइएको हो। केही काठ भने पुरानै प्रयोग गरिएको छ। ‘अहिले दैनिक छ जना जति कामदारले काम गरिरहेका छन्’, श्रेष्ठले भने– ‘पुरातत्व विभागले भनेअनुसार, नापजाँच गरेअनुसार पहिलेकै अवस्थामा कुनै हेरफेर नहुने गरी मन्दिर निर्माणको काम अघि बढाएका छौं। कुनै कुराहरू केही मात्रामा पनि परिवर्तन नहोस् भनेर हामी निरन्तर लागिरहेका छौं।’

पुरातात्त्विक, ऐतिहासिक, धार्मिक महत्त्व बोकेको मन्दिर भएकाले पुरातत्त्व विभागका इन्जिनियर तथा प्राविधिक कर्मचारीको प्रत्यक्ष अवलोकन तथा अनुगमनमा मन्दिर पुनर्निर्माण अघि बढाइएको छ। मन्दिर जीर्णाेद्धारको काम शुरू भएको डेढ वर्ष बितिसकेको छ। २०७२ साउनदेखि मन्दिर पुनर्निर्माण शुरू गरिएको हो। एक वर्षभित्रमा मन्दिरको एक तला निर्माण सकिएको हो। ०७४ सालभित्रमा मन्दिरको पुनर्निर्माण सक्ने र धर्माबलम्बीलाई पूजा, अर्चनाका लागि खुला गरिने लक्ष्यका साथ काम भइरहेको श्रेष्ठले बताए। पुरानो मन्दिर भत्काएपछि मन्दिर अघि रहेको खुला ठाउँमा मनकामनाको प्रतिमूर्ति स्थापना गरी भक्तजनले पूजाआजा गर्ने व्यवस्था जीर्णाेद्धार समितिले मिलाएको छ।

२०६८ मा पुरातत्त्व विभागले गरेको अध्ययनअनुसार मन्दिर पुनर्निर्माणमा ८ करोड रुपियाँ लगानी गर्नुपर्ने बताइए पनि महँगी बढेकाले लागत खर्च पनि बढेको छ। मन्दिर निर्माण सक्न कम्तीमा १४ करोड रुपियाँ आवश्यक पर्ने देखिएको श्रेष्ठको भनाइ छ। मन्दिर निर्माण गर्न सरकारले करिब ४ करोड रुपियाँ दिएको थियो भने भक्तजनबाट अहिलेसम्म करिब साढे ५ करोड रुपियाँ संकलन भएको छ। अहिले पनि दिनदिनै मन्दिर आउने भक्तजनले मन्दिर निर्माणका लागि रकम सहयोग गरिरहेका छन्। मनकामना मन्दिर जीर्णाेद्धारको काम अहिले पनि धमाधम भइरहेको छ। मन्दिर जीर्णाेद्धारको काम गर्दा काठहरू ल्याउन ढिलो भएकाले समयावधि लम्बिएको मनकामना जीर्णाेद्धार विकास समितिका अध्यक्ष श्रेष्ठ बताउँछन्।

प्रतिक्रिया दिनुहोस्